कर्णालीका मुख्यमन्त्री शाहीले पाए विश्वासको मत

मंसिर १५,२०७८

-आस्था न्यूज

मंसिर १५, २०७८ काठमाडौं ।
कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत प्राप्त गरेका छन् ।
 
बुधबार प्रदेशसभामा विश्वासको मतका लागि उनले राखेको विश्वासको मतको प्रस्तावमा बहुमत २२ मत प्राप्त भयो ।
 
विपक्षमा शून्य मत परेको सभामुख राजबहादुर शाहीले घोषणा गरे। मुख्यमन्त्री शाहीले आफूमाथि प्रदेशसभाको विश्वास छ भनी राखेको प्रस्तावको पक्षमा २२ मत परेको र यो कर्णाली प्रदेशसभाको सदस्य सङ्ख्याको बहुमत भएकाले मुख्यमन्त्रीले विश्वासको मत पाएको सभामुख शाहीले घोषणा गरे।
 
सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेसका ६, नेकपा (माओवादी केन्द्र) का १२, नेकपा (एकीकृत समाजवादी) का ३ र राप्रपाका १ प्रदेशसभा सदस्यले मुख्यमन्त्री शाहीको पक्षमा विश्वासको मत दिएका छन् । प्रदेशसभाको बुधबारको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रदेशसभा सदस्यहरु अनुपस्थित रहे।