कांग्रेस र कम्युनिष्टहरुमा व्यापक सैद्धान्तिक विचलन देखिएको राप्रपाको ठहर

मंसिर १६,२०७८

-आस्था न्यूज

मंसिर १६, २०७८ काठमाडौं ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले परिवर्तनकारी शक्तिसमेत खुसी हुनसक्ने राजसंस्था सहितको लोकतन्त्र हुनुपर्ने प्रस्ताव गरेको छ । राप्रपा अध्यक्ष कमल थापाले पार्टीको महाधिवेशनमा प्रस्तुत गरेको कार्यपत्रमा राजसंस्थालाई समयानुकुल परिमार्जन गर्दै कायम राख्न सकिने उल्लेख गरिएको छ ।  
 
‘प्राचिन संस्था भएको कारणले मात्र होईन नेपालको भू-राजनैतिक स्थिति, धार्मिक सामाजिक परिवेश एवं वर्तमान राजनैतिक अवस्थाको पृष्ठभूमिमा राजा सहितको प्रजातन्त्रको सान्दर्भिकता पुष्टि  हुन्छ’, राप्रपाको भनाइ छ, ‘कुनै पनि शक्तिलाई निषेध गरेर दिगो शान्ति र स्थायित्व कायम हुन सक्दैन ।
 
राप्रपाले राजादेखि माओवादी लगायतका सबै पक्ष, वर्ग र समुदाय अटाउने सक्ने नेपाली संस्करणको मौलिक प्रजातन्त्रको विकास नै वर्तमान समयको आवश्यकता रहेको र  त्यो सम्भव हुने पनि दावी गरेको छ । यस्तै राप्रपाले काँग्रेस र कम्युनिस्ट द्वैध मानसिकताको शिकार भएको पनि ठहर गरेको छ । कार्यपत्रमा दुवै दलहरुमा व्यापक सैद्धान्तिक विचलन देखिएको उल्लेख गरिएको छ । 
 
‘समाजवाद र साम्यवादको ‘ब्राण्ड’ को मोह पनि त्याग्न नसक्ने अनि नयाँ र परिवर्तित मान्यतालाई पनि खुला हृदयले अंगिकार गर्न नसक्ने द्वैध मानसिकताको शिकार भएका छन् काँग्रेस र कम्युनिष्ट पार्टीहरु’, थापाको राजनीतिक कार्यपत्रमा भनिएको छ, ‘अझ स्पष्ट भन्ने हो भने यहि द्विविधाको परिणामस्वरुप यि दुवै दलहरुमा व्यापक सैद्धान्तिक विचलन कायम भएको छ ।’