तेलको मूल्य घटेर आएपनि आयल निगमले नघटाउने !

मंसिर १७,२०७८

-आस्था न्यूज

मंसिर १७, २०७८ काठमाडौं ।
भारतीय आयल कर्पोरेसनले पेट्रोलियम पदार्थ र इन्धनको पछिल्लो मूल्यसूची नेपाल आयल निगमलाई पठाएको छ । निगमलाई आएको पछिल्लो सूचीमा पेट्रोल प्रतिलिटर ५ रुपैयाँ ६५ पैसा र डिजेल प्रतिलिटर ३ रुपैयाँ ६२ पैसा घटेर आएको छ । डिसेम्बर १ (बुधबार) पठाइएको नयाँ मूल्यसूचीमा खाना पकाउने एलपी ग्यास भने प्रतिसिलिन्डर ९२ रुपैयाँ २० पैसा बढेको निगमले जनाएको छ ।
 
‘अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य केही घटेपछि पेट्रोलरडिजेलमा सामान्य घटेको छ । तर, ग्यासको मूल्य झन् बढेर आएको छ,’ निगमका एक अधिकारीले भने, ‘समग्रमा हेर्दा १५ दिनको नोक्सानी करिब २ अर्ब रुपैयाँ छ । 
 
नोक्सानीको अवस्था रहेकाले तत्काल मूल्य घटाउन नसकिने ती अधिकारीले बताए । उनका अनुसार आइओसीले पठाएको नयाँ मूल्य अनुसार पनि निगमलाई हाल पेट्रोलमा प्रतिलिटर १०.३५ रुपैयाँ, डिजेलमा ७.४४ रुपैयाँ घाटा छ । त्यस्तै एलपी ग्यासमा प्रतिसिलिन्डर ७ सय ५८.२५ रुपैयाँ नोक्सानी छ ।
 
विक्रीबितरणको आधारमा १५ दिनमा पेट्रोलमा मात्रै ३२ करोड ७२ लाख रुपैयाँ र डिजेलमा ५० करोड ७२ लाख रुपैयाँ घाटा हुने प्रक्षेपण गरिएको छ । यस्तै, ग्यासमा १ अर्ब २६ करोड २० लाख रुपैयाँ घाटा हुने निगमको अनुमान छ । तर, मट्टितेल र हवाई इन्धनमा सामान्य नाफा छ ।
 
‘ती सबै जोड्दा १५ दिनको नोक्सानी १ अर्ब ९७ करोड ६७ लाख देखिन्छ,’ ती अधिकारीले भने । कच्चा तेलसँगै डलरको मूल्यले नेपालको मूल्यमा असर पर्दछ । असर पार्ने अर्को कारण भने भन्सार दर हो । इन्धनमा लाग्ने उच्च भन्सार दरले पनि इन्धनको मूल्य उच्च छ ।
 
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेपछि भारतले कर घटाएर सर्वसाधरणलाई राहत दिएको थियो । तर, नेपालमा कर घटाइएको छैन । हाल पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर १ सय ३६ रुपैयाँ, डिजेल र मट्टितेलको प्रतिलिटर ११९ रुपैयाँ, खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १५ सय ७५ रुपैयाँ तोकिएको छ ।
कान्तिपुरमा खबर छ ।