Trending :
 

एमसीसीबारे नेपाल र अमेरिकाका अधिकारीले भ्रम फैलाएको टिप्पणी

मंसिर २०,२०७८

-आस्था न्यूज

मंसिर २०, २०७८ काठमाडौं ।
अमेरिकाका लागि प्रस्तावित राजदूत श्रीधर खत्रीले एमसीसीबारे नेपाल र अमेरिकाका अधिकारीले भ्रम फैलाएको बताएका छन् । उनले एमसीसी लिने वा नलिने भए प्रष्टसँग अमेरिकालाई भन्नुपर्ने सुझाव दिएका छन् ।
 
सोमबार संसदीय सुनुवाइका क्रममा श्रीधर खत्रीले भने, एमसीसी देशभित्रको विवादमा अल्झिएको पनि देखिन्छ । यो लिने हो भने प्रष्ट भने हुन्छ । नलिने भए पनि अमेरिकालाई प्रष्ट भने हुन्छ ।
 
एमसीसी नेपालका र अमेरिकी अधिकारीका कारण विवादमा परेको उनको भनाइ थियो । प्राध्यापकसमेत रहेका प्रस्तावित राजदूत खत्रीले भने, अमेरिकाले पनि गल्ती गरेको छ । 
 
केही पहिले विदेश सहायकमन्त्री आउनुभएको बेला यसबारे उहाँसँग कुरा गरेको थियो । अमेरिकाको डिफेन्स सहायकमन्त्रीले इन्डोप्यासिफिकमा पर्छ भनेकाले भ्रम फैलिएको देखिन्छ, उनले भने ।
 
संसदीय सुनुवाइको क्रममा खत्रीले यसबारे सुरुमा नै आफ्नो धारणा राखेका थिए । सांसदहरूले प्रश्न सोध्ने ठानेर नै आफूले यसबारे आफ्ना कुरा पहिले नै राख्नु उचित ठानेको उनको भनाइ थियो ।
 
एमसीसी संसद्‍बाट पारित गर्नुपर्ने कुरा कानुन, न्याय तथा संसदीय मामिलामन्त्रालयको प्रस्तावमा भएको कुरा पनि खत्रीले बताएका थिए । संसद्‍बाट पास गर्नुपर्ने कानुन मन्त्रालयले सुझाव दिएर गरियो । 
यो गर्ने हो भने त बीआरआई पनि पास गर्ने होला, समग्र संसद्‍बाट गर्ने देखिन्छ, उनले ठूला लगानी र वैदेशिक सहयोगलाई संसद्‍बाट पारित गर्ने कुरा ठीक नभएको आशय व्यक्त गरेका थिए ।
 
नेपालले अमेरिकालाई नेपालको भौगोलिक अवस्थिति भारत र चीनबीचको बारेमा स्पष्ट पार्नुपर्ने पनि खत्रीको भनाइ थियो । अमेरकाले नेपालको चीन र भारत बीचको भौगोलिक अवस्थितिबारे बुझ्नुपर्छ । त्यसबारे हामीले बुझाउनुपर्छ । अमेरिकालाई नेपालको असंलग्नताको सिद्धान्त बुझाउनुपर्ने देख्छु, उनले भने ।