Trending :
 

कांग्रेस महाधिवेशन उद्घाटन सत्रका लागि भृकुटीमण्डपमा प्राङ्गण र कभर्ड हल सजाउन सुरु

मंसिर २१,२०७८

-आस्था न्यूज

मङ्सिर २१, २०७८ काठमाडौं।
 
नेपाली काँग्रेसको १४औँ महाधिवेशन उद्घाटन सत्रका लागि भृकुटीमण्डप प्राङ्गण तथा कभर्ड हल सजाउन सुरु गरिएको छ । महाधिवेशनको औपचारिक उद्घाटनका लागि प्राङ्गणमा मञ्च निर्माण हुँदै छ भने बन्दसत्रका लागि कभर्डहल प्रयोग हुने भएको छ । यही शुक्रबार २४ गते दिउँसो प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवाले महाधिवेशन उद्घाटन गर्ने तयारी छ ।
 
मञ्च व्यवस्थापन समितिका सदस्य डा. प्रदीप पराजुलीले मञ्च निर्माणका लागि आवश्यक सामग्री भृकुटीमण्डप पुर्‍याइसकेको बताउनुभयो । मञ्च सुरक्षा घेरबारका सामग्री पनि थुपार्न थालिएको छ । त्यस्तै, कभर्डहलभित्र पनि मञ्च निर्माण र सिट व्यवस्थापनको काम सुरु हुँदै छ । तीन दिनको अवधिमा मञ्च निर्माणदेखि सिट व्यवस्थापनलगायतका निर्माणकार्य पूूरा भइसक्नेछन् ।
 
महाधिवेशनमा प्रतिनिधि तथा पर्यवेक्षक गरी करिब पाँच हजारको सहभागिता हुने अपेक्षा गरिएको छ । प्रतिनिधिका सवारीसाधन पार्किङका लागि खुलामञ्च, विशिष्ट व्यक्ति तथा आमन्त्रित पाहुनाको सवारी पार्किङ महेन्द्र पुलिस क्लब र राष्ट्रिय सभागृहमा व्यवस्था गरिएको छ ।
 
त्यस्तै, केन्द्रीय पदाधिकारी तथा सदस्यको मतदानका लागि भृकुटीमण्डप कभर्डहल, बाहिर प्राङ्गण र राष्ट्रिय सभागृह गरी तीन स्थानमा मतदान केन्द्र राखिनेछन् । काँग्रेस महाधिवेशन अवधिभरका लागि प्रदर्शनीमार्गमा सवारीसाधन सञ्चालनमा रोक लगाइनेछ ।
 
महाधिवेशन व्यवस्थापनका लागि काँग्रेस पार्टी समर्थक भूतपूर्व सैनिक सङ्घको नेतृत्वमा १५० जना अवकाशप्राप्त सैनिक कर्मचारी स्वयम्सेवकका रूपमा महाधिवेशन स्थलमा खटिनेछन् ।
 
महाधिवेशन सुरक्षाका लागि महानगरीय प्रहरी परिसर काठमाडौँले विशेष सुरक्षा योजना नै बनाएको छ । प्रहरी उपरीक्षक दिनेश मैनालीको कमान्डमा दुई हजारको हाराहारीमा सुरक्षाकर्मी परिचालन गरिनेछ । त्यसका लागि काठमाडौँ परिसरका अतिरिक्त महानगरीय प्रहरी सहायता कार्यालय महेन्द्र पुलिस क्लब र विभिन्न गणबाट ठूलो सङ्ख्यामा सुरक्षाकर्मी थप गरिएको छ । सवारी पार्किङ तथा ट्राफिक व्यवस्थापनको जिम्मा महानगरीय ट्राफिक महाशाखाले लिएको छ ।
 
सञ्चारकर्मीको सुविधाका लागि ‘मिडिया सेन्टर’ स्थापना गरिने भएको छ । मञ्चनजिक विभिन्न मिडियाका क्यामेरा पर्सनबाहेक अन्यको प्रवेशमा रोक लगाइएको छ । सबै सञ्चारकर्मीलाई मञ्चनजिक राख्न समस्या हुने भएकाले क्यामेरालाई मात्र सहज गरिएको डा। पराजुलीले बताउनुभयो ।
 
अन्य सञ्चारकर्मीका लागि मिडिया सेन्टरमा बसेर टीभी डिस्प्लेबाट सूचना तथा समाचार सङ्कलनको व्यवस्था गरिएको छ । त्यस्तै, पार्टीका शुभचिन्तक तथा कार्यकर्ताका लागि प्रदर्शनीमार्गलगायत विभिन्न स्थलमा स्पिकरसहित टीभी डिस्प्ले राख्ने जनाइएको छ ।
 
महाधिवेशनमा सहभागी हुन विभिन्न जिल्लाबाट महाधिवेशन प्रतिनिधि काठमाडौँ उपत्यका भित्रिन थालेका छन् । महाधिवेशन प्रतिनिधिको आवास सुविधाका लागि सुन्धारा, ठमेल, गोङ्गबु नयाँ बसपार्क र सिनामङ्गललगायत क्षेत्रका होटलमा छुट्ट्याइएको छ ।
 
केन्द्रीय निर्वाचन समितिका अनुसार, मतदाता नामावली २४ गते १० बजे पार्टी कार्यालय सानेपामा प्रकाशन गरिनेछ । उम्मेदवारको मनोनयन २५ गते १०-५ बजेसम्म, मनोनयन पत्रमाथि दाबी विरोध दर्ता २६ गते बिहान ८-१० बजेसम्मलाई तोकिएको छ ।
 
सोउपर निर्णय दिउँसो १०-१२ बजेसम्म, उम्मेदवारको वर्णानुक्रम नामावली प्रकाशन सोही दिन १२-३ बजेसम्म, मनोनयन फिर्ता लिने समय साँझ तीन/चार बजेको बीचमा, उम्मेदवारको अन्तिम नामावली प्रकाशित २६ गते साँभm पाँच बजे र मतदान २७ गते बिहान आठ बजेबाट सुरु हुने समितिका संयोजक गोपालकृष्ण घिमिरेले बताउनुभयो ।