चाक्सीबारीमा युवाहरुको दबाब-नेताहरु मिल्नुस् कांग्रेस जोगाउनुस्
कांग्रेस नेतृत्वका लागि साझा उम्मेदवार बनाउन त्याग गर्न वरिष्ठ नेता पौडेल तयार
-आस्था न्यूज
मंसिर २१, २०७८ काठमाडौं ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एकताका लागि त्याग गर्न तयार रहेको बताएका छन् । नेता प्रकाशमान सिंह निवास चाक्सीबारीमा जारी आफूपक्षीय नेताहरुको छलफलमा पौडेलले साझा उम्मेदवार बनाउनका लागि त्याग गर्ने बताएका हुन् ।
तपाईंहरु मिल्न तयार भए । म छोड्न तयार छु । हैन भने मलाई नै सघाउनुस् नेता पौडेलले बैठकमा भनेको उद्धृत गर्दै केन्द्रीय सदस्य गुरुराज घिमिरेले भने, सबै नेताहरु त्यागको भावनाबाट ओतप्रोत हुनुहुन्छ । एकता हुन्छ । साझा उम्मेदवार तय नगरे उपाय छैन । माथि मिलेपछि पदाधिकारी को त हामी दुई घन्टामै सम्पन्न गर्छौं । हामी एउटा उम्मेदवार बनाउँछौं ।
नेता सिंहले पनि साझा उम्मेदवारबारे छलफल भइरहेको तर निष्कर्षमा पुग्न बाँकी रहेको बताए । नेताहरुलाई सहमतिमा पुग्न दबाब स्वरुप युवाहरुले बैठकस्थलबाहिर प्लेकार्डसहित प्रदर्शन गरेका छन् ।
उनीहरुले साझा उम्मेदवारको विकल्प छैनु, एकता मात्रै जितको आधार हो, नेताहरु मिल्नुस् कांग्रेस जोगाउनुस् जस्ता नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका हुन् ।