कांग्रेस महामन्त्रीका उम्मेदवार गगन थापाको अवधारणा पत्र सार्वजनिक
-आस्था न्यूज
मङ्सिर २३,२०७८ काठमाडौं ।
नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा महामन्त्रीका उम्मेदवार गगन थापाले पार्टीमा क्रियाशील भएर जनताको जीवनमा बदलाव ल्याउने कुरा महत्त्वपूर्ण भएको बताएका छन् । बिहिबार आफ्नो अवधारणा पत्र सार्वजनिक गर्दै उनले जनताको जीवनमा बदलाव ल्याउन सके आफ्नो राजनीतिक जीवन सफल भएको ठान्ने बताएका हुन् ।
उनले भने, ‘म पार्टीको महामन्त्री हुन्छु हुन्न थाहा छैन । पार्टीको राजनीतिक यात्रा पदीय जिम्मेवारीको हिसाबले कहाँ गएर टुङ्गिन्छ त्यो पनि मलाई थाहा छैन । जहाँ गएर टुङ्गियोस् तर अबको १०-१५ वर्ष पार्टीको क्रियाशील सदस्य भएर काम गर्छु ।’
‘१०-१५ वर्ष काम गरेर मेरा २०-२१ वर्षका छोरीहरूलाई लिएर काठमाडौँ या नेपालका कुनै कुनामा घुम्दै गर्दा परबाट कसैले मायाले जय नेपाल भनेर भन्दियोस् । मलाई यति मात्र भए पुग्छ । त्यहाँ कुनै नेपाली नागरिकले माया र सम्मान दिए पुग्छ,’ थापाले भने, ‘मेरो छोरीहरूलाई लागोस् कि मेरो बा जुन पार्टीमा बसेर काम गरे त्यो कामले कहीँ न कहीँ हामीलाई टेक्ने आधार एउटा बनाइ दियो । यति भइदियो भने म आफ्नो राजनीतिक जीवन सफल भएको ठान्नेछु ।’