Trending :
 

द्वन्द्वकालीन घटनाका पीडितहरूलाई चाँडै न्याय दिलाउने प्रधानमन्त्रीको प्रतिबद्धता

मंसिर २४,२०७८

-आस्था न्यूज

मंसिर २४, २०७८ काठमाडौं ।
प्रधानमन्त्री शेरबहादुर देउवाले द्वन्द्वकालीन घटनाका पीडितहरुलाई चाँडै न्याय दिलाउने प्रतिबद्धता व्यक्त गरेका छन् । 
 
राष्ट्रिय मानव अधिकार आयोग नेपालद्वारा शुक्रबार काठमाडौंमा आयोजित ७३ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले द्वन्द्वकालीन घटनाका पीडितहरुलाई चाँडै न्याय दिलाउने बताएका हुन् ।
 
उनले नेपालमा मानव अधिकारसम्बन्धी धेरै अधिकार दिएको बताउँदै राम्रोसँग क्षतिपूर्ति दिएर भए पनि द्वन्द्वकालीन घटनाका पीडितहरुलाई न्याय दिलाउने प्रतिबद्धता व्यक्त गरे । प्रधानमन्त्री देउवाले नेपालले गरिरहेको कामको प्रशंसा सारा संसारले नै गरेको भन्दै मानवअधिकारसम्बन्धी आवश्यक काम गर्न सरकार तयार रहेको बताए ।
 
प्रधानमन्त्री देउवाले भने, ‘मानव अधिकारसम्बन्धी धेरै अधिकार हामीले दिएका छौं । पछाडि परेका, महिला, दलित, जनजाती सबैलाई हामीले आरक्षण दिएका छौं, अधिकार दिएका छौं । मानव अधिकारसम्बन्धी धेरै कुराहरु नेपालमा भएको छ । 
 
जुन द्वन्द्व पीडितहरु, द्वन्द्वबाट जो मानिस दुस्खी छन्, अहिलेसम्म पनि टीआरसी, सत्यनिरुपण लगायतका कुराहरुमा पनि हामीले अवश्य नै न्याय गर्नेछौं । रामोसँग क्षतिपूर्ति दिएर भए पनि द्वन्द्व पीडितहरुको परिवार, सदस्यहरुलाई न्याय दिने प्रयास गरिरहेका छौं । हाम्रो कामको संसारले नै तारिफ गरेको छ । 
 
नेपालमा यत्रो द्वन्द्व भए आफैं नेतृत्व गरेर वार्ता सुरु गरेर हामीले हिजो इन्सर्जेन्सीमा लागेका मित्रहरु आज मिनिस्ट्रिमा आएका छन् । सबैलाई हामीले आश्वस्त पार्नु परेको छ । नेपाल आफैंले पनि धेरै कामहरु गर्नसक्छ भन्ने कुरा प्रमाणित भएको छ । केही कुरा छन् भने त्यसमा पनि हामी हेर्ने नै छौं ।’
 
कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग, नेपालका अध्यक्ष तपबहादुर मगरले राष्ट्रिय मानव अधिकार आयोगमा वर्तमान पदाधिकारी नियुक्तिपछि आयोगले सन् २०२१ देखि २०२६ सम्मका लागि रणनीतिक योजना निर्माण गरेको बताए ।
 
उनले उक्त योजनाले संघ, प्रदेश तथा स्थानीय तहमा मानव अधिकार संरक्षण तथा संवर्द्धनका लागि कार्य गर्न आयोगलाई दिशानिर्देश गरेको बताउँदै व्यवसाय र मानव अधिकार, जलवायु परिवर्तन र मानव अधिकार, भ्रष्टाचार र मानव अधिकार, दिगो विकास लक्ष्य र मानव अधिकार राष्ट्रिय कार्ययोजनाको अनुगमन लगायतका कार्यक्रमलाई प्राथमिकतामा राखेको बताए ।