कांग्रेस महाधिवेशन:
जनतामा व्याप्त असमानता अन्त्य गर्नुपर्नेमा उपेन्द्र यादवको जोड
-आस्था न्यूज
मंसिर २४, २०७८ काठमाडौं ।
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधनका लागि जोड दिएका छन् । उनले समावेशी समानुपातिक प्रतिनिधित्वले नै लोकतन्त्रलाई बलियो बनाउने धारणा पनि व्यक्त गरेका छन् ।
नेपाली काँग्रेसको १४ औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै यादवले जनतामा व्याप्त असमानता, बेरोजगारी, अशिक्षालाई समाप्त गर्दै सबै खाले शोषण, उत्पीडन अन्त्य गर्नुपर्ने खाँचो औँल्याए ।
उनले संविधान संशोधन, नागरिकता समस्या समाधान, विगतमा गरेका प्रतिबद्धता पूरा गर्न अब ढिला गर्न नहुने पनि प्रस्ट पारे । विगतका कमी कमजोरी हटाएर राजनीतिक अस्थिरता, दिशाहीनता र अन्योलयतालाई अन्त्य गर्नुपर्ने उनको भनाइ छ ।
उनले काँग्रेसको १४ औँ महाधिवेशन सफल सार्थक र उपलब्धिपूर्ण होस्, संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ तुल्याउन यथेष्ट ऊर्जा दिन सफल होस् भन्ने कामना पनि गरे ।