Trending :
 

माओवादीको प्रदेश सम्मेलन आज, प्रचण्डले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने

मंसिर २५,२०७८

-आस्था न्यूज

मंसिर २५, २०७८ काठमाडौं ।
नेकपा माओवादी केन्द्रको प्रदेश सम्मेलन आज हुँदैछ ।
 
सात भौगोलिक र तीन गैर भौगोलिक गरी १० प्रदेशमा सम्मेलन हुन लागेको हो ।
 
अधिवेशनको आज दिउँसो १ बजे पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने तयारी छ । माओवादीले सात भौगोलिकसहित उपत्यका विशेष, सम्पर्क समन्वय र प्रवास प्रदेश समिति गठन गरेको छ ।
 
प्रदेश नं १ को विराटनगर, प्रदेश नं २ को जनकपुर, वाग्मतीको काठमाण्डौ, गण्डकीको पोखरा, लुम्बिनीको भालुवाङ, कर्णालीको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा सम्मेलन हुने माओवादीले जनाएको छ । सम्मेलनबाट नौ पदाधिकारीसहितको समिति चयन हुनेछ ।
 
प्रदेश समितिमा एक अध्यक्ष, तीन उपाध्यक्ष, एक सचिव, तीन सहसचिव र कोषाध्यक्ष एक गरी नौ सदस्यीय पदाधिकारी हुनेछन् । माओवादीले यसअघि गएको ११ गते पालिका सम्मेलन गरेको थियो ।
 
माओवादीको राष्ट्रिय सम्मेलन आउँदो पुस ११ देखि १३ गतेसम्म काठमाण्डौमा हुँदैछ ।