कांग्रेस सभापतिका लागि दोस्रो चरणको चुनाव हुनसक्छ, त्यो बेला म देउवालाई सघाउन सक्दिनः निधि
-आस्था न्यूज
मंसिर २६, २०७८ काठमाडौं ।
नेपाली काँग्रेसका सभापतिका दाबेदार विमलेन्द्र निधिले दोस्रो चरणको चुनाव भएमा आफूले शेरबहादुर देउवालाई नसघाउने घोषणा गरेका छन् । आइतबार भृकुटीमण्डपमा पत्रकारसँग संक्षिप्त कुरा गर्दै निधिले भने, पहिलो चरणमा कसैले पनि ५० प्रतिशतभन्दा बढी मत कटाउने देखिँदैन । त्यसपछि दोस्रो चरणमा सभापति पदका लागि चुनाव हुन्छ। त्यसबेला देउवा इतर रहेका हामी सबै एक हुन्छौं ।’
काँग्रेस सभापतिमा शेरबहादुर देउवा, प्रकाशमान सिंह, शेखर कोइराला र कल्याण गुरुङसँगै निधिले पनि उम्मेदवारी दर्ता गराएका छन् । यसअघि देउवा गुटमा नै रहेका निधिले दोस्रो चरणमा देउवालाई सघाउन सक्ने अनुमान गरिँदै आएको थियो । तर, उनले सबैको अनुमानविपरीत दोस्रो चरणमा देउवाइतर समूहसँग मिल्ने खुलासा गरे ।
पछिल्लो समय देउवा र निधिबीच सम्बन्ध चिसिएको छ । निधिले सभापतिमा उम्मेदवारी घोषणा गरे पनि देउवाले उनीप्रति कुनै चासो देखाएका छैनन् । बरु कृष्णप्रसाद सिटौलासँग तालमेल गरेका छन् ।
सभापतिमा उम्मेदवारी घोषणा गरेका निधिले पदाधिकारीहरुको पूर्ण प्यानल बनाउन नसकेपछि उनी पहिलो चरणबाट नै आउट हुने सम्भावना बढेको छ । पहिलो चरणमा देउवा र शेखर कोइरालाबीच प्रतिष्पर्धा हुने र सिंहसँगै निधि पनि आउट हुने विश्लेषण गरिँदै आएका बेला निधिले पहिलो चरणमा कसैले पनि ५० प्रतिशत मत नकटाउने ठोकुवा गरेका छन् ।