Trending :
 

महाधिवेशनपछि कांग्रेसलाई बलियो र विस्तारित पार्टी बनाउँछौंः महत

मंसिर २६,२०७८

-आस्था न्यूज

मंसिर २६,२०७८ काठमाडौं ।
नेपाली काँग्रेसका नेता डा.प्रकाशशरण महतले पार्टीलाई बलियो र विस्तारित पार्टी बनाउने बताएका छन् । आईतवार काठमाडौंमा आयोजित नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिहरूलाई बधाई तथा शुभकामना आदान-प्रदान कार्यक्रममा बोल्दै नेता महतले पार्टीलाई बलियो र विस्तारित पार्टी बनाउने बताएका हुन् । 
 
उनले पार्टीलाई अबको महाधिवेशनपछि आधुनिक पार्टी बनाउने प्रतिबद्धता समेत व्यक्त गरे । नेता महतले आम निर्वाचनमा पार्टीलाई एक बनाएर एक्लै स्थानीय तहदेखि केन्द्रिय तहसम्म निर्वाचित गरेर ल्याउनुपर्ने जिम्मेवारी रहेकोले महाधिवेशनबाट प्रधानमन्त्री शेरबहादुर देउवालाई नेतृत्वको लागि चुन्नुको विकल्प नरहेको पनि बताए ।
 
नेता महतले भने, ‘नेपाली काँग्रेस पार्टीलाई एउटा बलियो पार्टी, बिस्तारित पार्टी र सम्पूर्ण जातजाति, धर्म संस्कृति, भाषा, भेष, सबैको साझा पार्टी, आम जनताको पहुँचमा जोडिने पार्टीको रुपमा रुपान्तरण गर्ने, हाम्रो जिम्मेवारी छ । त्यो जिम्मेवारीलाई आदरणीय नेता, प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा हामी सम्पन्न गर्न चाहान्छौँ ।’ 
 
देउवाले पार्टीलाई एक बनाउन महत्वपूर्ण भूमिका खेलेको दाबी गर्दै महतले भने, ‘उहाँले पार्टीलाई एक बनाएर राख्नुभएको छ । आम निर्वाचनमा पनि एक बनाएर नेपाली काँग्रेसले एक्लै स्थानीय तहदेखि केन्द्रीय तहसम्म निर्वाचित गरेर ल्याउनुछ । 
 
नेपाल मात्र पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मले पूरा हुँदैन, अनेक जातजाति, भाषा भाषीहरुको पनि त्यत्तिकै आवश्यक छ । नेता, कार्यकर्ताहरूको सहयोगमा म पार्टीलाई आधुनिक पार्टी बनाउने पूर्ण प्रतिवद्धता जनाउँछु ।’