Trending :
 

माधव र प्रचण्ड कम्युनिष्ट आन्दोलनलाई कमजोर पार्न लागेको पोखरेलको आरोप

मंसिर २७,२०७८

-आस्था न्यूज

मंसिर २७, २०७८ काठमाडौं ।
नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल कम्युनिष्ट आन्दोलनलाई कमजोर पार्ने मिसनमा लागेको आरोप लगाएका छन् ।
 
सोमबार अखिल नेपाल महिला संघले ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै महासचिव पोखरेलले नेताद्वय दाहाल र नेपाल पुँजीवादतर्फको यात्रा गरेको नेपाली काँग्रेसलाई नेता बनाएर कम्युनिष्ट आन्दोलनलाई कमजोर पार्ने कुराको मिसनमा लागेको दाबी गरेका हुन्  ।
 
उनले दाहाल र नेपाल दक्षिणपन्थी अवसरवादको शिकार भएको आरोप समेत लगाए । उनले भने – ‘यो दक्षिणपन्थी अवसरवाद कस्तो रहेछ, कुरा क्रान्तिकारीका गर्ने तर आफ्नो स्वार्थमा धक्का लाग्ने बित्तिकै त्यो क्रान्तिको आदर्शबाट च्युत भएर दक्षिणपन्थीको सेवामा समर्पित गरिहाल्ने । यो इतिहासको शिक्षा हो । 
 
उग्रताको कुरा गर्नेहरू अन्तिममा दक्षिणपन्थी अवसरवादको शिकार हुन्छन् भनेर हाम्रा अग्रजहरूले भन्ने गरेका थिए त्यो चिज आज माओवादी आन्दोलनका सुप्रिमो ठानिने पुष्पकमल दाहाल प्रचण्डको जीवनमा पनि देखियो । हाम्रै आन्दोलनको लामो समयको नेताका रूपमा रहनुभएका माधव नेपाल जसलाई हामीले ३ कार्यकाल पार्टीको प्रमुखको रूपमा जिम्मेवारी सुम्प्यौँ, उहाँलाई नेता मान्यौँ । उहाँले पनि आफ्नो जीवनमा त्यो चिजलाई प्रकट गर्नुभयो ।
 
हामीले भन्यौँ ६२र६३ को परिवर्तन पछाडि अब समाज कहाँ जाने भन्ने कुराका सन्दर्भमा दुईवटा कित्ताका बिचमा बाँडिनेछ, एउटा समाजवाद तर्फको यात्रा । एउटा पुँजीवाद तर्फको यात्रा । पुँजीवाद तर्फको यात्राको नेतृत्व काँग्रेसले गर्छ भनेर भन्यौँ । आज प्रचण्ड र माधव नेपालहरू काँग्रेसलाई नेता बनाएर, कम्युनिष्ट आन्दोलनलाई कमजोर पार्ने कुराको मिसनमा लाग्नुभाछ  भनेपछि दक्षिणपन्थी अवसरवाद भनेको यही हो । 
 
यसमाथि विजय हासिल गर्ने कुरा यति बेलाको राजनीतिको एउटा मक्सद हो भन्ने कुरालाई बुझ्नु जरुरी छ ।’