Trending :
 

ज्ञानेन्द्रसँगको ५ बुँदे सहमति प्रमाणित गर्न ओलीलाई प्रचण्डको चुनौती

पौष ०१,२०७८

-आस्था न्यूज

पुस १, २०७८ काठमाडौं ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमालेले अध्यक्ष केपी शर्मा ओली झूट, बेइमानी र धोकाको अर्को नाम भएको आरोप लगाएका छन् । बुधबार पार्टीका मनोनीत केन्द्रीय सदस्यहरुको शपथग्रहण कार्यक्रममा ओलीले तत्कालीन राजा ज्ञानेन्द्र र माओवादी अध्यक्ष दाहालबीच २०६० साल मंसिर १८ गते ५ बुँदे सहमति  भएको दाबी गरेका थिए ।
 
उक्त दाबीको खण्डन गर्दै दाहालले बिहीबार प्रेस वक्तव्य जारी गरेका छन् । दाहालले ओलीको आरोप खण्डन गर्दै भनेका छन्, दलाल पूँजीपति वर्ग र प्रतिगमनको राजनैतिक प्रतिनिधिका रुपमा देखा परेका एमाले गुटका अध्यक्ष के.पी शर्मा ओली, झुट, बेइमानी र धोकाको अर्को नाम हो भन्ने तथ्यलाई उनले हालैको आफ्नै अभिव्यक्तिबाट पुनः प्रमाणित गरेका छन् । पूर्वराजा ज्ञानेन्द्र शाहसँग प्रचण्डको पाँच बुँदे सहमति भएको थियो भन्ने शतप्रतिशत झुटो कुरा प्रचार गरेर उनले आफ्नो दरिद्र राजनैतिक चरित्र मात्र प्रदर्शन गरेका छन् ।
 
दाहालले ओलीलाई उक्त पाँच बुँदे सहमति प्रमाणित गर्न पनि चुनौती दिएका छन् । साथै प्रमाणित गर्न नसके जनतासँग माफी माग्न पनि दाहालको चुनौती छ । दाहालले अगाडि भनेका छन्, म के. पी. ओलीलाई पाँच बुँदे सहमति प्रमाणित गर्न र प्रमाणित गर्न नसके झुटो बोलेकोमा जनतासँग माफी माग्न चुनौती दिन्छु ।