देउवा-प्रचण्ड भेटवार्ताः एमसीसीबारे छलफल गर्न सर्वदलीय बैठक बोलाउन आग्रह
-आस्था न्यूज
पुस २, २०७८ काठमाडौं ।
प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ । देउवालाई भेट्न शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका दाहालले एमसीसीबारे सर्वदलीय छलफल, सदन अवरुद्ध खुलाउनेलगायतका विषयमा कुरा गरेका थिए ।
एमसीसी र एमालेले लामो समयदेखि गरेको सदन अवरुद्ध खुलाउने विषयमा दुई नेताबीच कुराकानी भएको दाहालका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।
प्रधानमन्त्री देउवाले दाहालसँग केही दिनमै सर्वदलीय बैठक डाक्ने बताएका थिए । पछिल्लो समय नेकपा एमालेले संसद् अवरुद्ध पर्नाले एमसीसी अनुमोदनलगायत विषय प्रभावित बनेका छन् ।
बुधबारदेखि सुरु भएको संघीय संसद्को दसौं अधिवेशनमा पनि प्रमुख प्रतिपक्ष एमालेले अवरोध जारी राखेको छ । दसौं अधिवेशनको पहिलो दिन मंगलबार एमालेले विरोधलाई निरन्तरता दिए पनि सरकारले भने दुई सातअघि जारी गरिएका ६ वटा अध्यादेश संसद्मा पेस गरेको थियो ।
सभामुख अग्निप्रसाद सापकोटाले कारबाही गरिएका १४ सांसदलाई पदमुक्त नगरेको भन्दै एमालेले भदौ २३ देखि संसद् अवरुद्ध गर्दै आएको छ ।
भेटको क्रममा नेता दाहालले देउवालाई सभापतिमा निर्वाचित भएको बधाइ तथा शुभकामनासमेत दिएका थिए । साथै राष्ट्रिय क्रिकेट टोलीका खेलाडीहरूमाथि क्यानले गरेको कारबाहीबारे पनि दाहालले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।