कांग्रेस सहमहामन्त्रीमा पिछडिएका क्षेत्रतर्फ बद्री पाण्डे र थारूतर्फ उमाकान्त चौधरी निर्वाचित
-आस्था न्यूज
पुस २, २०७८ काठमाडौं ।
नेपाली काँग्रेसको पिछडिएका क्षेत्रतर्फ को सहमहामन्त्रीमा शेखर कोइराला प्यानलका बद्री पाण्डे विजयी भएका छन् । शुक्रबार पार्टी कार्यालय सानेपामा भएको मतगणनाअनुसार कोइराला प्यानलका पाण्डे विजयी भएका हुन् ।
सभापति शेरबहादुर देउवा समूहका जीवन शाहीलाई पराजित गरि पाण्डे २४११ मत ल्याएर सहमहामन्त्रीमा निर्वाचित भएका हुन् । कर्णाली प्रदेशका मुख्यमन्त्री समेत रहेका शाहीले पाण्डेसँग २७८ मतले पराजय बेहोरेका हुन् । शाहीले २१३३ मत पाएका छन् । यस्तै चेतराज बरालले ९९ मत पाएका छन् ।
यस्तै, थारूतर्फको सहमहामन्त्रीमा शेरबहादुर देउवा पक्षका उमाकान्त चौधरी निर्वाचित भएका छन् । पार्टी कार्यालय सानेपामा भएको मतगणनाको मतपरिणामअनुसार शेखर कोइराला पक्षका तेजुलाल चौधरीलाई पराजित गरी उमाकान्त सहमहामन्त्रीमा निर्वाचित भएका हुन् ।
उमाकान्तले २५५६ मत ल्याएका छन् भने तेजुलालले १८७७ मत पनएका छन् । काँग्रेस नेता कृष्णप्रसाद सिटौला निकट उमाकान्त देउवा समूहबाट उम्मेदवार बनेर विजयी भएका हुन् । उनी वर्तमान खानेपानीमन्त्री हुन् ।