कांग्रेसको केन्द्रीय सदस्यमा चित्रलेखा यादव र अर्जुनबहादुर सिंह निर्वाचित
-आस्था न्यूज
पुस ३, २०७८ काठमाडौं ।
नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमिति सदस्य खुल्लातर्फको मत गणना सुरु हुँदैछ । खुल्लातर्फ ३५ जनाको मतगणना आज बिहान १० बजेदेखि सुरु हुने पार्टीको निर्वाचन समितिले जनाएको छ । सभापतिसहित १३ पदाधिकारीको नतिजा आइसकेको छ ।
सभापतिदेखि केन्द्रीय सदस्यसम्म एक सय ३४ केन्द्रीय कार्यसमितिका लागि सोमवार मतदान भएको थियो । कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री निर्वाचित हुने व्यवस्था छ ।
कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट निर्वाचित हुने विधानको व्यवस्था छ । यसैगरी ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, हरेक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासी र जनजाति १५, खसरआर्य १३, मधेसी नौ, थारु चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसङ्ख्यकबाट एक, अपाङ्गता भएकाबाट एक सदस्य गरी कुल १३४ पदाधिकारी तथा सदस्य चयन हुने व्यवस्था छ । यसबाहेक केन्द्रीय सभापतिले ३३ जना मनोनीत गर्ने विधानमा उल्लेख छ ।
कांग्रेसको केन्द्रीय सदस्यमा चित्रलेखा यादव र अर्जुनबहादुर सिंह निर्वाचित हुनुभएको छ । यादव प्रदेश(२ को महिलातर्फको केन्द्रीय सदस्यमा यादव निर्वाचित हुनुभएको हो । उहाँ शेरबहादुर देउवा समूहकी हुनुहुन्छ । उहाँले शेखर कोइराला समूहकी गीता चौधरीलाई पराजित गर्नुभएको हो । चित्रलेखाले २ हजार ७३१ मत प्राप्त गर्दा चौधरीले १ हजार ८८५ मत प्राप्त गर्नुभयो ।
अर्जुनबहादुर सिंह पिछडिएको क्षेत्रबाट केन्द्रीय सदस्यमा विजयी हुनुभएको हो । सिंहले दुई हजार ६७७ मत ल्याउनुभएको छ । उहाँका प्रतिस्पर्धी दीपकजङ्ग शाहीले दुई हजार ५६ मत मात्रै प्राप्त गरेको कांग्रेसको निर्वाचन समितिले जनाएको छ ।