Trending :
 

प्रधानमन्त्री शेरबहादुर देउवाद्धारा सर्वदलीय बैठक आव्हान, एमाले सहभागी नहुने

पौष ०३,२०७८

-आस्था न्यूज

पुस ३, २०७८ काठमाडौं ।
प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन् । आइतबार दिउँसो ४ बजेका बैठक बोलाइएको हो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बोलाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार गोविन्द परियारले जानकारी दिए ।
 
प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानु देउवाका अनुसार संसद्को गतिरोध अन्त्य गर्नका लागि भोलिको बैठक बोलाइएको हो । ‘नेकपा एमालेको विरोधका कारण अघि बढ्न सकेको छैन ।
 
त्यही भएर गतिरोध अन्त्य गरेर संसद्लाई सुचारु गर्न प्रधानमन्त्रीज्यूले पहल सुरु गर्नुभएको हो । सबै दललाई पत्र पठाइसकिएको छ,’ उनले भने ।
 
यता प्रधानमन्त्री देउवाले भोलिका लागि बोलाएको सर्वदलीय बैठकमा नेकपा एमाले सहभागी नहुने भएको छ ।
 
प्रधानमन्त्री देउवाले एमाले औपचारिकताको लागि मात्रै बैठक बोलाएको र नेकपा एकीकृत समाजवादी पार्टी पनि बैठकमा सहभागी हुने भएकाले आफूहरु सहभागी नहुने एक नेताले जानकारी दिए।
 
एमालेसँग प्रमुख प्रतिपक्षीको रुपमा गम्भीर ढङ्गले छलफल गर्नुपर्नेमा सर्वदलीय बैठकका नाममा औपचारिकता पूरा गरेर मात्रै नहुने भन्दै बैठकमा नजाने निर्णय भएको अध्यक्ष केपी शर्मा ओलीको भनाइ उदृत गर्दै एक नेताले जानकारी दिए।
 
एमालेले हटाएका सांसदहरु मिलेर बनेको नेकपा एकीकृत समाजवादीको बारेमा अदालतमा मुद्दा विचाराधीन रहेको र त्यो दललाई बोलाएर गरिने औपचारिक कार्यक्रममा आफूहरु सहभागी नहुने ओलीले अडान राख्दैआएका छन्।