अर्थतन्त्र सङ्कटमा नरहेको अर्थमन्त्रीको भनाई

पौष ०६,२०७८

-आस्था न्यूज

पुस ६, २०७८ काडमाडौं।
 
अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्र सङ्कटमा पर्न थालेको भन्ने भनाइको खण्डन गर्नुभएको छ ।
 
सोमबार अर्थ मन्त्रालयमा आयोेजित पुँजीगत खर्चसम्बन्धी अन्तरमन्त्रालयगत छलफल तथा अन्तक्र्रियामा मन्त्री शर्माले भन्नुभयो, “पुँजीगत खर्चको स्थिति कमजोर छ, यो कुरा साँचो हो तर अन्य सूचक सङ्कटमा रहेको भन्ने कुरा नियोजित हल्ला हो । ”
 
विभिन्न मन्त्रालयका मन्त्री र उच्च अधिकारी सहभागी रहेको सो कार्यक्रममा मन्त्री शर्माले हाल देखिएको तरलता अभाव हटाउन पनि पुँजीगत खर्च बढाउनुपर्ने बताउनुभयो । उहाँले पुँजीगत खर्चको गति बढाउन वन तथा वातावरणसँग सम्बन्धित विद्यमान ऐन, नियम संशोधन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
 
वन क्षेत्रमा पर्ने पूर्वाधार निर्माणका लागि वन मन्त्रालयबाट सम्पादन गरिनुपर्ने कामहरू मौजुदा ऐन नियमको कारण चाँडो हुन नसक्ने र त्यसबाट पुँजीगत खर्च प्रभावित हुने गरेको भन्दै मन्त्री शर्माले त्यसमा सुधार गर्नुपर्नेमा जोड दिनुभयो ।
 
वनसँग सम्बन्धित समस्याको चर्चा गर्ने क्रममा अर्थमन्त्री शर्माले निजी जग्गामा भएको काठसमेत जनताले उपयोग गर्न नमिल्ने खालको नीति नियममा संशोधन हुनुपर्ने बताउनुभयो । “निजी जग्गामा भएको काठ काटेर उपयोग गर्दासमेत कारबाही गर्ने गरिएको छ, यो ठीक भएन । नियम परिवर्तन गरौँ,” उहाँले भन्नुभयो ।
 
सो अवसरमा मन्त्री शर्माले पुस मसान्तभित्र पुँजीगत खर्च ३० प्रतिशत पु(याउन मन्त्रालयहरूलाई आग्रह गर्दै पुँजीगत खर्च बढाउन अर्थ मन्त्रालयले गर्नुपर्ने सहमति, समन्वयलगायतका काम समयमै गर्ने प्रतिबद्धता जनाउनुभयो ।
 
मन्त्री शर्माले पुसभित्र ३० प्रतिशत पुँजीगत खर्च गर्न नसक्ने मन्त्रालयको बजेट रकमान्तर गरी खर्च भइरहेको ठाउँमा पठाइदिने तयारी भइरहेकोसमेत बताउनुभयो । उहाँले भन्नुभयो, “जसले खर्च गर्न सक्छ, उसैलाई बजेट थपिन्छ । खर्च गर्न नसक्ने मन्त्रालयको बजेट कटौती हुन्छ । रकमान्तर गरेर पठाइन्छ । ”