बैंकहरुको लाभांश सार्वजनिक, नगदभन्दा सेयर बोनसलाई प्राथमिकता

पौष ०६,२०७८

-आस्था न्यूज

पुस ६, २०७८ काठमाडौं ।
नेप्सेमा सूचीकृत सबै वाणिज्य बैंकहरुले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेका छन् । लाभांश घोषणा गरेका केहीले लगानीकर्तालाई नै दिइसकेका छन् । यसपालि पनि नबिल बैंकले सबैभन्दा धेरै ३८ प्रतिशत लाभांश घोषणा गरेको छ । सो बैंकले पोहोरभन्दा धेरै लाभांश दिएको छ ।
 
पोहोरभन्दा धेरै लाभांश दिनेमा ११ बैंक छन् । नविल, हिमालयन, कृषि विकास, सानिमा, नेपाल, प्राइम, सिटिजन्स, नेपाल बंगलादेश, स्टान्डर्ड, माछापुच्छ्रे र प्रभु बैंकले पोहोरभन्दा धेरै दिएका छन् । पोहोरभन्दा कम दिनेमा १२ बैंक छन् । इन्भेष्टमेन्ट, एनएमबी, एनआइसी एसिया, बीओके, ग्लोबल आईएमई, मेगा, कुमारी, एनसीसी, सनराइज, सेन्चुरी, एसबीआई, सिभिल छन् । पोहोरजति नै लाभांश दिनेमा सिद्धार्थ, एभरेष्ट, लक्ष्मी छन् ।
 
यसपटक पनि बैंकहरुले नगदभन्दा सेयर बोनसलाई प्राथमिकता दिएका छन् । लाभांश घोषणा गरेकामध्ये १६ बैंकको बुक क्लोज भइसकेको छ । अर्थात यी १६ बैंकको सेयर अब किन्नेले लाभांश पाउँदैनन् । लाभांश पाउन बुक क्लोजभन्दा अघिल्लो दिनसम्म सेयर खरिद गरेको वा होल्ड गरेको हुनुपर्नेछ ।
 
१० बैंकको भने बुक क्लोज हुन बाँकी छ । एनएमबी र एसबिआईको बुधबार बुक क्लोज हुँदैछ । ८ बैंकको सेयर किन्नेले अझै पनि लाभांश पाउनेछन् । सेन्चुरी, एनआइसी एसिया, सिद्धार्थ, हिमालयन, कृषि विकास, सिभिल र नबिल बैंकको बुक क्लोज हुन बाँकी छ भने एनसिसीको आगामी सोमबार बुक क्लोजको मिति तय भएको छ ।