Trending :
 

यथास्थितिमा एमसीसी पास गर्ने पक्षमा एमाले छैनः सचेतक भट्टराई

पौष ०६,२०७८

-आस्था न्यूज

पुस ६, २०७८ काठमाडौं ।
नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले एमाले यथास्थितिमा एमसीसी पास गर्ने पक्षमा नरहेको बताएका छन् । 
 
मंगलबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख सचेतक भट्टराईले एमाले कुनैपनि सर्तमा यथास्थितिमा एमसीसी पास गर्ने पक्षमा नरहेको स्पष्ट पारे । उनले गठबन्धन तोडेमा एमालेले एमसीसी पास गर्न सघाउने भन्ने हल्लामा सत्यता नरहेको बताए ।
 
एमालेलाई गठबन्धन तोड्न कुनै रुची नभएको उल्लेख गर्दै उनले वर्तमान सरकार पूर्ण अवधि चलोस् र गठबन्धन जारी रहोस् भन्ने पक्षमा एमाले रहेको बताए । उनले भने – ‘यस्ता मिथ्या आरोपको कुनै अर्थ छैन । एमालेलाई अहिले यो गठबन्धन तोड्न कुनै रुची छैन । सरकारमा जान कुनै रुची छैन । 
 
नेकपा एमालेलाई अहिले कुनै अर्को गठबन्धन बनाएर सरकारमा जाउँ भन्ने छैन । हामी विल्कुल यो सरकार पूर्ण अवधि चलोस् । यो गठबन्धन जारी राखोस् भन्ने पक्षमा छौं । र स्पष्ट गर्न चाहान्छु म नेकपा एमालेको तर्फबाट यथास्थितिमा एमसीसी पास गर्ने पक्षमा नेकपा एमाले छैन । कुनै सर्तमा पनि हामी एमसीसी यथास्थितिमा पास गर्ने पक्षमा छैनौं ।’
 
नेकपा९एमाले०का सांसद शेरबहादुर तामाङले सत्ता पक्षले संसद् अवरोध गरिरहेको आरोप लगाए । एमालेले संसद् चलाउनका लागि सत्ता पक्ष र प्रतिपक्षबीचको वार्ता चाहेको भएपनि सत्ता पक्ष वार्ता नगरी पेलेर जाने मुडमा रहेको उनको भनाई छ । एमाले अझैपनि वार्ता र छलफलको पक्षमा रहेकाले राष्ट्रिय इस्यूहरुमा छलफलबाट निष्कर्ष निकालेर जान सकिने उनले बताए ।
 
नेकपा (माओवादी केन्द्र)का सांसद राम कार्कीले एमालेले संसद् अवरोध गरेर संविधानको मर्यादालाई नाघेको टिप्पणी गरे । उनले एमालेले प्रजातान्त्रिक अभ्यास आत्मसात् गर्ने हो भने आफुलाई अर्मयादित बनाउनु नहुने बताए । उनले भने– ‘स्वभाविक रुपमा उसले संविधानको मर्यादालाई नाघिराख्या छ ।
 
अदालतमा खोज्नुपर्ने उपचार संसद्‌मा खोज्ने, संसद्‌मा पाउनुपर्ने उपचार गएर मन्त्रिपरिषद्मा खोज्ने भनेको वास्तवमा डेमोक्रेसीलाई डिरेल गर्ने कुरा नै हो । नेकपा९एमाले०ले लामो समय आफुलाई बडो डेमोक्रेटिक देखाउन प्रयत्न गरेको हो भने उसले यसलाई अर्मयादित गर्नु हुँदैन ।’
 
नेकपा (एमाले) का सांसद सोमप्रसाद पाण्डेले संसद अवरोध गर्नुपर्ने खालको कुनै इस्यू नभएको बताए । एमालेले केवल अवरोधका लागि अवरोध मात्रै गरिरहेको उनको तर्क छ । विभिन्न बखेडा झिकेर संसद् अवरोध गरी राजनीतिक अस्थिरता ल्याउन खोजिएको उनले बताए ।
 
उनले जुन विषय उठाएर संसद् अवरुद्ध गरिएको छ त्यो विषय संसद् अवरुद्ध गर्ने खालको नभएको टिप्पणी गरे । संसद् अवरुद्ध गर्नाले राजनीतिक दलहरु र स्वयम् एमालेलाई पनि राम्रो नहुने सांसद पाण्डेले बताए ।