कतार सरकारबाट घरेलु श्रमिकको न्यूनतम ज्यालामा बृद्धि

पौष ०७,२०७८

-आस्था न्यूज

पुस ७, २०७८ काठमाडौं ।
कतारी श्रम मन्त्रालयको रिपोर्टअनुसार कतार सरकारले घरेलु श्रमिकको हकमा कानुनमा सुधार गरेको छ । यसले न्यूनतम ज्यालामा बृद्धि भए यता कतारमा तीन लाखभन्दा बढी आप्रवासी कामदारको ज्यालामा एक हजार रियालभन्दा बढीले बढोत्तरी भएको छ । 
 
खाना बस्न राम्रो व्यवस्था भएमा कम्पनीले मासिक एक हजार तलव दिने, नभए १८ सय तलव दिनैपर्ने व्यवस्था लागू भएको छ । कतारको श्रम मन्त्रालयको एक रिपोर्टअनुसार, यो व्यवस्था लागू भएपछि एक हजार रियालभन्दा कम तलव पाइरहेका तीन लाख ८ हजार एक सय ४६ जनाले १८ सय रियाल तलव पाउन थालेका छन् । 
 
कोरोना महामारीको समयमा कामदारहरूलाई काम तथा आम्दानीमा कमी नआओस् भनेर कतार सरकारले अनलाइन मार्फत जागिर परिवर्तन गर्न सकिने गरी अनलाइन वेव पोर्टलसमेत तयार पारेको थियो । 
 
अनलाइनमार्फत् २ लाख ४२ हजार ८ सय ७० जनाले कम्पनी परिवर्तन गरी काम सुचारू गरेका थिए । कम्पनी परिवर्तन गर्न चाहने ९९ हजार जनाको अनुरोध भने विविध कारणले अस्वीकृत भएको थियो ।
 
कतार सरकार पछिल्लो समय नेपालबाट घरेलु श्रमिक लैजाने योजनामा छ । त्यहाँ झन्डै ४ लाख नेपाली घरेलु कामदारसहित विभिन्न क्षेत्रमा कार्यरत छन् ।