Trending :
 

एमसीसी टुंगोमा पुर्‍याउने विषयमा गठित कार्यदलद्वारा प्रारम्भिक छलफल सुरु

पौष ०७,२०७८

-अस्था न्यूज

पुस ७, २०७८ काठमाडौं ।

अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोसेशन (एमसीसी) बारे टुंगोमा पुग्न गठित कार्यदलले प्रारम्भिक छलफल सुरु गरेको छ ।

बुधबार कार्यदलका सदस्यसमेत रहेका एकिकृत समाजवादीका नेता झलनाथ खनाल निवास डल्लुमा भएको पहिलो चरणको छलफल सकारात्मक रुपमा अघि बढेको सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए । उनले एमसीसीका विषयमा धेरै छलफल भैसकेको र यसलाई कसरी निश्कर्षमा पुर्‍याउने त्यो बाटोमा जाने दिशामा अग्रसर हुने बताए ।

केहि दिनपछि फेरी छलफल गरेर निष्कर्षमा पुर्‍याउने र सम्पूर्ण जनतालाई सु-सुचित गराउने कार्यदलका सदस्य समेत रहेका मन्त्री कार्कीको भनाई छ ।

एमसीसी बारे गठबन्धन सरकारभित्रै फरक-फरक धारणा आइरहेका बेला कार्यदलको बैठक बसेको हो ।

पुस ४ गते सरकारद्धारा गठित कार्यदलमा नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल, नेपाली काँग्रेसका नेता तथा सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्की र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ छन् ।

सरकारले खनालको नेतृत्वमा गठित कार्यदललाई एमसीसीका सम्बन्धमा टुंगोमा पुग्न जिम्मेवारी दिइएको छ । कार्यदलले अन्य दलहरुसँग छलफल गरेर एमसीसी पास गर्ने-नगर्नेबारे ठोस निष्कर्ष निकाल्ने छ।