साउनदेखि मंसिर मसान्तसम्म व्यापार घाटा ७ खर्ब ३५ अर्ब

पौष ०८,२०७८

-आस्था न्यूज

पुस ८, २०७८ काठमाडौं ।
चालु आर्थिक वर्षको पाँच महिनामै (साउनदेखि मंसिर मसान्तसम्म) मुलुकको व्यापार घाटा ७ खर्ब ३५ अर्ब पुगेको छ । भन्सार विभागको तथ्यांकअनुसार पाँच महिनाको अवधिमा कुल ८ खर्ब ३८ अर्ब ४० करोड रुपैयाँको वस्तु आयात भएको छ भने १ खर्ब २ अर्ब ९२ करोडको निर्यात भएको छ । 
 
व्यापार घाटा गत वर्षको यसै अवधिको तुलनामा ५४.७० प्रतिशतले बढी हो । आयात ५९.५५ प्रतिशतले बढेको छ भने निर्यात १०५ प्रतिशतले बढेको छ । कच्चा सोयाविन र पाम तेल ल्याएर नेपालमा प्रशोधन गरी बाहिरिने गरेको छ । जसले गर्दा निर्यातको वृद्धिदर उच्च देखिएको हो यसको व्यापार घाटामा भने योगदान देखिएको छैन ।
 
चालु आवको पहिलो चार महिनाको तथ्यांकअनुसार २७ अर्ब २३ करोडको कच्चा सोयाविन तेल आयात भई प्रशोधन गरी २६ अर्ब ४० करोड रुपैयाँको निर्यात भएको छ । त्यस्तै १९ अर्ब १७ करोडको कच्चा पाम तेल आयात भई प्रशोधन गरी १९ अर्ब २ करोडको निर्यात भएको तथ्यांक छ ।
 
वस्तुगत रुपमा पेट्रोलियम पदार्थको आयात सबैभन्दा उच्च छ । चालु आवको पहिलो चार महिनाको तथ्यांकअनुसार ७८ अर्बको पेट्रोलियम पदार्थ मात्रै भित्रिएको छ ।
 
पेट्रोलियम पदार्थपछि धेरै आयात हुने वस्तुहरुमा क्रमशः सवारीसाधन तथा पार्टपूर्जा, मेसिनरी तथा पार्टपूर्जा, कच्चा सोयाविन तेल, टेलिकम्युनिकेसन सामग्री, औषधि, कच्चा पाम तेल, एमएस बिलेट, सुन र चाँदी छन् ।