प्रदेश २ को नामकरणका लागि ४ नाम प्रस्ताव, दुई तिहाइ पुर्याउन मुस्किल
-आस्था न्यूज
पुस ८, २०७८ काठमाडौं ।
प्रदेश २ को नामकरणको विषयमा सत्ता गठबन्धन दलहरुबीच नै फरकफरक प्रस्ताव प्रस्तुत भएका छन् । बिहीबार प्रदेश सभाको बैठकमा सत्तारुढ दलहरु जसपा र माओवादी केन्द्र एक ठाउँमा उभिएका छन् भने कांग्रेस र नेकपा ९एस०ले फरक फरक नाम प्रस्तुत गरेका छन् ।
कूल १०७ सदस्यीय प्रदेश सभामा हाल १०४ जना सांसद छन् । जसमा जनता समाजवादी (जसपा) ३९ सिटसहित ठूलो दलको रुपमा कायम छ । प्रदेश सभामा नेपाली कांग्रेसका १९, लोसपाका १६, नेकपा (एस) का १३, एमालेका ८, माओवादीका ८ र नेपाल संघीय समाजवादी पार्टीका १ सांसद छन् ।
नेपालको संविधानको धारा २९५ को उपधारा २ बमोजिम प्रदेशको नामकरण सम्बन्धित प्रदेश सभाको सम्पूर्ण सदस्य संख्याको दुई तिहाइ बहुमतबाट हुने उल्लेख छ ।
१०७ सदस्सीय प्रदेश सभामा दुई तिहाइ संख्या पुर्याउनका लागि ७२ जना सांसद आवश्यक देखिन्छ । हाल सत्तारुढ गठबन्धनभित्रै फरक-फरक प्रस्ताव आएकाले कुनै पनि प्रस्तावको पक्षमा दुई तिहाइ पुर्याउनका लागि कठिनाइ देखिएको छ ।
हाल मधेस प्रदेशको पक्षमा उभिएका जसपा,लोसपा र माओवादी केन्द्रको कूल सांसद संख्या ६३ छ । बहुमत जुटाउनका लागि यी दलहरुलाई थप ९ सांसदको समर्थन चाहिन्छ । यसका लागि सत्ता गठबन्धनमा भएको कांग्रेस वा नेकपा (एस) दुईमध्ये एकले समर्थन गर्नुपर्ने देखिन्छ । तर, यी दुवै दलले आफ्ना छुट्टै प्रस्ताव पेस गरेका छन् ।
यदि कांग्रेस र नेकपा(एस)ले आफ्नो प्रस्तावको पक्षमा समर्थन जुटाउनका लागि जसपा,लोसपा,माओवादी केन्द्र वा एमालेको समर्थन जुटाउनुपर्ने हुन्छ । तर, यी दुवै दललाई ठूलो संख्या आवश्यक पर्ने भएकाले सहमति जुटाउन कठिनाई हुने देखिन्छ ।
नामकरणका लागि पेस भएका प्रस्तावहरूमध्ये कुनै एकको पक्षमा दुई तिहाइ पुर्याउनुपर्दा चारवटा दलहरु मिल्नुपर्ने देखिन्छ । तर, जसपा आफ्नै अडानमा कायम रहे प्रदेशका अरु सबै दल मिले पनि दुई तिहाइ पुग्ने देखिन्न ।
यसअघि करिब डेढ वर्षअघि पनि प्रदेश सभाको नामकरणका लागि भएको मतदानमा दुई तिहाइ बहमुत नपुगेपछि प्रस्तावहरु फेल भएका थिए । बिहीबार प्रस्ताव गरिएका नामहरुमा पनि दलहरुबीच सहमति नहुँदा सबै प्रस्तावहरू अस्वीकृत हुने खालको अवस्था देखा परेको छ ।