अन्तराष्ट्रिय प्रसङ्ग:
आश्विन ०४,२०७४
-एजेन्सी
४ आश्विन/प्योङयाङ
उत्तर कोरियाले धेरै प्रतिबन्ध र दबाबबाट आफ्नो परमाणु कार्यक्रम थप तीव्रताका साथ अघि बढाउन सहयोग पुग्ने टिप्पणी गरेको छ । उत्तर कोरियाले पछिल्लो समयमा जारी राखेको परमाणु कार्यक्रमका कारण राष्ट्रसंघले कडा प्रतिबन्ध लगाएपछि उत्तर कोरियाले त्यसप्रति प्रतिक्रिया दिँदै प्रतिबन्ध र दबाबले परमाणु कार्यक्रमको विकासबाहेक अरू कुनै कुरामा फरक नपार्ने बताएको छ ।
उत्तर कोरियाली विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै संयुक्त राष्ट्र संघको नयाँ प्रतिबन्धको कडा निन्दा गरेको छ । उत्तर कोरियाले राष्ट्र संघको प्रतिबन्ध विद्वेषपूर्ण, अनैतिक, अमानवीय र शत्रुतापूर्ण कदम भएको टिप्पणी गरेको छ ।
यसैबीच अमेरिका र दक्षिण कोरियाली सेनाले कोरियाली प्रायद्वीपमा संयुक्त सैन्य अभ्यास गरेको छ । उत्तर कोरियाको परमाणु कार्यक्रमको जवाफमा दक्षिण कोरिया र अमेरिकाले संयुक्त सैनिक अभ्यास गरेका हुन् ।
उत्तर कोरियाले यस प्रकारको संयुक्त सैन्य अभ्यासको कडा विरोध गर्दै आएको छ । राष्ट्रसंघको महासभामा उत्तर कोरिया सबैभन्दा ठूलो मुद्दा हुने बताइएको छ । उत्तर कोरियाले गत शुक्रबार मात्रै पनि जापानको होक्काइदो माथिको क्षेत्रबाट क्षेप्यास्त्र परीक्षण गरेको थियो ।
उसले यो महिना मात्रै आफ्नो छैटौं परमाणु बमको रूपमा हाइड्रोजन बम परीक्षण गरेपछि राष्ट्रसंघले कडा नाकाबन्दी लगाएको छ । उत्तर कोरियाको परमाणु परीक्षणको सुरक्षा परिषद्ले सर्वसम्मतले कडा निन्दा गरेको थियो । सुरक्षा परिषद्ले उत्तर कोरियाको यो कदम उक्साउने खालको भएको बताएको छ ।
उत्तर कोरियाली विदेश मन्त्रालयको विज्ञप्ति सरकारी समाचार एजेन्सी कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसीएनए) ले प्रकाशित गरेको छ । उत्तर कोरियाले अमेरिका र उसको पछि रहेका राष्ट्रका तर्फबाट लगाउने यस प्रकारको प्रतिबन्ध र दबाबले परमाणु शक्ति सम्पन्न राष्ट्र बन्नका लागि नै सहयोग पुग्ने उल्लेख गरेको छ । उत्तर कोरियाले आफू यो दबाबको सामु नझुक्ने समेत बताएको छ ।
उसले सेप्टेम्बर ११ मा राष्ट्रसंघले लगाएको प्रतिबन्ध उसैलाई क्षति पु¥याउने खालको भएको दाबी गरेको छ । उत्तरले प्रतिबन्धका माध्यमबाट उत्तर कोरियाली सरकार र जनतालाई समाप्त पार्ने गम्भीर षड्यन्त्र भएको बताएको छ ।
यो प्रतिबन्धको उद्देश्य इन्धन आपूर्ति रोक्न, आयको स्रोत बन्द गर्न, तेलको आयातमा पाबन्दी लगाउन र कपडा निर्यातलाई रोक्नु भएको बताइएको छ । केही आलोचकले पनि उत्तर कोरियामाथि लगाएको प्रतिबन्धमाथि प्रश्न उठाएका छन् ।
उनीहरूले उत्तर कोरियाले अहिले पनि अन्तर्राष्ट्रिय व्यापार गरिरहेको जनाएका छन् । ब्लुमबर्ग न्युजका अनुसार उत्तर कोरियाले अहिले पनि चीनसँगको व्यापारिक सम्बन्ध राखेको छ । यसैका आधारमा गत वर्ष उसको आर्थिक वृद्धिदर ३.९ प्रतिशत रहेको जनाएको छ ।
‘अमेरिका कुच्चोले समुन्द्र सफा गर्दै छ’
उत्तर कोरियाको सरकारी अखबार मिन्जु जोसनले संयुक्त राष्ट्रसंघले लगाएको प्रतिबन्ध ‘बेबकुफीपना’ भएको टिप्पणी गर्दै यसले कुनै फरक नपर्ने टिप्पणी गरेको छ । सो पत्रिकाले अमेरिका र उसका सहयोगी राष्ट्रको ‘आपराधिक कृत्य’ ले संकट ल्याउन सक्ने चेतावनीसमेत दिएको छ । सो पत्रिकाले भनेको छ, ‘उत्तर कोरियामाथिको अमेरिकी प्रतिबन्ध व्यर्थ साबित हुनेछ र यो समुद्र झाडुले सफा गरेजस्तै मात्र हो ।’
अखबारले लेखेको छ, ‘यो वास्तममा घिनलाग्दो र ज्यादा मुर्खतापूर्ण कार्य हो । अमेरिकाले मामुली प्रतिबन्धबाट आफ्नो भविष्य दाउमा लगाइरहेको छ । जबकि उसले जान्नुपर्छ कि यो प्रतिबन्धले केही पनि प्राप्त हुनेछैन ।’
अखबारले अमेरिकी प्रतिबन्धले दुस्मनको यस प्रकारको कदम मेटाउन उत्तर कोरियाली सेनाको मनोबल अझ बढाइरहेको समेत दाबी गरेको छ । अमेरिकाले लगातार उत्तर कोरियाली राजनीतिक विचारधाराको अपमान र उसको सामाजिक प्रणालीलाई धराशायी बनाउने कोसिस गरिरहेको पत्रिकाको दाबी छ ।
उत्तर कोरियाली सेना तथा जनतासँग अन्तिम युद्ध जित्ने र अमेरिका र उत्तर कोरियाविरोधीलाई हराउन काँधमा काँध मिलाएर लड्नुको अर्को विकल्प नरहेको समेत दाबी गरिएको छ ।
उता दक्षिण कोरियाली राष्ट्रपति मुन जे–इनले राष्ट्र संघ महासभामा उत्तर कोरियाको परमाणु कार्यक्रमका कारण उत्पन्न संकट समाधानका लागि आफूले जोड दिएर कुरा राख्ने बताएका छन् । न्युयोर्कमा उनले भने, ‘मलाई लाग्छ कि तपाईंहरू उत्तरको लगातारको परमाणु परीक्षणका कारण धेरै चिन्तित हुनुहुन्छ । राष्ट्र संघको महासभामा म अन्तर्राष्ट्रिय समुदायका नेताहरूसँग यो समस्याको आधारभूत तरिकाले समाधान गर्नका लागि बाटो खोज्नेछु ।’
प्रमुख समाचार
सम्वन्धित समाचार