एमसीसीको गहिराइ बुझेर मात्र लागू गर्नुपर्ने माधव नेपालको भनाई
-आस्था न्यूज
पुस ९, २०७८ काठमाडौं ।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले एमसीसीको अध्ययन गरी गहिराइ बुझेर मात्रै लागू गर्ने प्रक्रिया अगाडि बढाउनुपर्ने बताएका छन् ।
पार्टीको कार्यकर्ता भेलामा सल्यान पुगेका अध्यक्ष नेपालले पत्रकार भेटघाटमा आर्थिक सहयोग मात्र भए एमसीसी पास गर्ने नत्र नगर्ने जनाएका छन् ।
‘एमसीसी सम्बन्धी वास्तविकता के छ त्यो बुझ्छौं र जनताको चाहना के छ त्यो बुझ्छौं । त्यसपछि मात्र प्रक्रिया अगाडि बढाउँछौं’ उनले भने ‘अमेरिकाले उपलब्ध गराउने आर्थिक सहयोग निस्वार्थ हो भने हामी स्वीकार्छौं । सबै कुराको सुनिश्चित छैन तथा स्वार्थगत छ भने हामी कदापी स्विकार्दैनौं’।
यस्तै एमसीसी पारित गर्ने अधिकार जनतालाई दिनुपर्ने पनि उनले बताएका छन् । एमसीसी लागु गर्नका लागि उल्लेख गरिएका कुरा परिमार्जनको माग राख्दै आए पनि सम्बन्धित निकायले बेवास्ता गरेको र अध्ययन नै नगरी पास गर्न खोजेको उनको आरोप छ ।
‘एमसीसी नेपाल र नेपाली जनताको कति हितमा भन्ने कुराको अध्ययनन गर्न आवस्यक छ । यदी ठीक छ भने ठीक छ । छैन भने छैन भनेर सत्तापक्षधरले भन्न सक्नुपर्छ । सबैलाई अल्मलाइरहनु हुँदैन,’ उनले भने ।
नेता नेपालले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कुनै अध्ययन नगरी पहिला नै एमसीसी पास गर्न खोजेको आरोप लगाएका छन् ।