भारतका स्वास्थ्यकर्मी र ज्येष्ठ नागरिकलाई बुस्टर डोज दिने प्रधानमन्त्री मोदीको घोषणा

पौष ११,२०७८

-आस्था न्यूज

पुस ११, २०७८ काठमाडौं ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले १५ देखि १८ वर्ष उमेर समूहलाई कोरोना भाइरसविरुद्धको खोप दिने घोषणा गरेका छन् । यो समूहलाई नयाँ वर्ष २०२२ को जनवरी तीन तारिखदेखि खोप दिइने मोदीले बताए । मोदीले स्वास्थ्यकर्मी र ६० वर्ष माथिको समूहलाई पनि बुस्टर डोज दिने घोषणासमेत गरेका छन् ।
 
शनिबार राति राष्ट्रको नाममा सम्बोधन गर्दै मोदीले सो घोषणा गरेका हुन् । मोदीले भनेका छन्, ‘१५ देखि १८ वर्ष उमेरका जो बालबालिकाहरु छन्, अब उनीहरुका लागि भारतमा खोप अभियान सुरु हुने छ । सन् २०२२ को जनवरी ३, सोमबारदेखि यसको सुरुवात हुने छ ।’
 
उनले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनबाट आतंकित नहुन आग्रह गर्दै सावधान र सतर्क रहन आह्वान गरे ।
 
भारतले यसै वर्षको १६ जनवरीदेखि आफ्ना नागरिकहरुलाई कोरोनाविरुद्धको खोप दिन सुरु गरेको थियो । मोदीले भारतीय नागरिकहरुलाई १४१ डोज खोप दिएर कठिन लक्ष्य पार गरेको पनि बताए ।
 
उनका अनुसार भारतको वयस्क जनसंख्यामध्ये ६१ प्रतिशतभन्दा धेरैले कोरोनाविरुद्धको खोपको पूरा मात्रा लगाइसकेका छन् । वयस्क जनसंख्याको ९० प्रतिशतले कोरोनाविरुद्धको पहिलो मात्रा लगाइसकेको जानकारी पनि उनले दिए ।