Trending :
 

माओवादी महाधिवेशनमा देउवाद्वारा ‘प्रचण्ड’ को राजनीतिक योगदानको चर्चा

पौष ११,२०७८

-आस्था न्यूज

पुस ११, २०७८ काठमाडौं ।
प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कै बलमा संविधानसभाबाट संविधान बनेको बताएका छन् ।
 
नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनको उद्घाटनसत्रलाई सम्बोधन गर्दै देउवाले ‘प्रचण्ड’ को राजनीतिक योगदानको चर्चा गरे । 
 
उनले भने, ‘पुष्पकमल दाहालजीले नेपालको राजनीतिमा धेरै ठुलो योगदान दिनुभएको छ । उहाँकै बलले हामी संविधानसभामा गएका हौं । 
संविधानसभाबाट संविधान बनाउने कुरा २००७ सालमा काँग्रेसले गरेको हो, पछिल्लो चरणमा प्रचण्डले लिएकै अडानका कारण संविधानसभाको चुनाव भएको हो ।’
 
उनले पाँच दलीय गठबन्धन कसैको विरुद्धमा नरहेको पनि प्रस्ट पारे । अहिलेको संविधान अन्तर्गत संसद पूरा समय चलोस् भन्ने पुनीत उद्देश्यले गठबन्धन निर्माण भएको उनको भनाइ थियो । 
 
उनले गठबन्धन पूरा समय चल्ने भन्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगायतलाई यो गठबन्धन आफूविरुद्ध बनाइएको हो कि भन्ने शंका नगर्न पनि आग्रह गरे ।
 
देउवाले एमसीसीको विरोध गर्नेहरुलाई एमसीसी पढ्न सुझाव दिए । एमसीसीको विरोध गर्नेहरुलाई एमसीसी पढ्न आग्रह गर्दै यसबारे प्रश्नसमेत गरेका हुन् ।
 
‘एउटा कुरा मैले यहाँ बोल्नै पर्ने भयो यहाँ, एमसीसी राष्ट्रघाती भनेको हुनाले । म अरु कुरालाई आएको थिएँ, यहाँ एमसीसी राष्ट्रघाती भन्दियो’, प्रधानमन्त्री देउवाले भने । आफूअरु नै कुरा भन्न उपस्थित भएको भएपनि एमसीसीको कुरा आएकाले बोल्नै पर्ने बाध्यता भएको सुनाए ।