Trending :
 

पूर्व राजाको विरोध गरेर आफ्नो संगठन मजबुत बनाउँने भ्रममा ठूला दलहरु लागेको लिङ्देनको आरोप

पौष १२,२०७८

-आस्था न्यूज

पुस १२, २०७८ काठमाडौं ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालका ठूला तीन दल पूर्व राजा ज्ञानेन्द्रको विरोध गरेर आ-आफनो संगठन विस्तारमा लागेको आरोप लगाएका छन् ।
 
पूर्वी नवलपरासीको सदरमुकाम कावासोतीमा सोमबार आयोजित आम सभामा बोल्दै उनले पूर्व राजाको विरोध गरेर आफ्नो संगठन मजबुत हुन्छ भन्ने भ्रममा ठूला दलहरु अघि बढेको चर्चा गरे ।
 
नेपालका ठूला तीनवटा दलहरुले (कांग्रेस, एमाले र माओवादी) ०६२, ०६३ मा जनआन्दोलन गर्ने नाममा जनचाहाना विपरित हिन्दु धर्म फालेको र देशलाई सिक्किमीकरणतर्फ लगेको आरोप लगाए ।
 
अध्यक्ष लिङ्देनले ठूला तीन दलले भ्रष्टाचार र विसंगति बढाउने बाहेक देश र जनहितमा एउटा पनि काम नगरेका कारण उनीहरुबाट देश जोगाउने राजनीतिक एजेण्डा राप्रपाको भएको बताए ।
 
यस्तै, उनले कमल थापाको नाम उच्चारण नगरिकन राजाको विरोध गरेर चर्चामा आउन खोज्नेहरुबाट देश जोगाउन पर्ने बताए ।
 
अध्यक्ष लिङ्देनले कांग्रेस, एमाले र माओवादीका नेताहरुले भ्रष्टाचारलाई संस्थागत गरेका कारण जनतामा राजनीतिमै वितृष्णा जागेको दाबी गरे । देशका ठूला दल शासनमा रहँदा जनताको अवस्था नफेरिएको बरु भ्रष्टाचार संस्थागत भएको उनको भनाइ थियो ।
 
राप्रपा पूर्वी नवलपरासीले सोमबार कावासोती थानाको चौरमा आयोजना गरेको सभामा राप्रपका अधिकांश केन्द्रीय नेताहरुको उपस्थिती छ ।