उज्वेकिस्तानलाई हराउँदै नेपालद्वारा सेन्ट्रल जोन भलिबलको उपाधि रक्षा

पौष १३,२०७८

-आस्था न्यूज

पुस १३, २०७८ काठमाडौं ।
 
उज्वेकिस्तानलाई ३-२ सेटमा पराजित गरी नेपालले एसियन सेन्ट्रल जोन सिनियर वुमेन्स च्यालेन्ज कप भलिबलको उपाधि रक्षा गरेको छ ।
 
बंगलादेशको ढाका मीरपूरस्थित शाहिद सूरवार्दी नेसनल इन्डोर रंगशालामा सम्पन्न फाइनलमा उज्वेकिस्तानले नेपालमाथि कठिन चुनौती पेस गरेको थियो ।
 
लिग चरणमा सोझो सेटको जित निकालेको नेपालले २६-२४, २४-२६, २५-१५, २२-२५ र १५-११ को सेटमा खेल जितेर लगातार दोस्रो पटक उपाधि उचालेको हो ।
 
नेपालले यसअघि सन् २०१९ मा सोही रंगशालामा आयोजित पहिलो संस्करणमा माल्दिभ्सलाई हराएर उपाधि उचालेको थियो ।
 
अघिल्लो संस्करण एउटा सेट पनि नगुमाई उपाधि जितेको नेपालका लागि यसपल्ट उपाधि यात्रा कठिन रह्यो । श्रीलंका र उज्वेकिस्तानको सहभागिताले प्रतियोगिता प्रतिस्पर्धात्मक बनेको हो ।
 
उपाधि यात्रामा नेपालले ६ खेलमा अपराजित यात्रा अकायम राख्न सक्यो । पहिलो खेलमा श्रीलंकासँग र फाइनलमा उज्वेकिस्तानसँग नेपालले २–२ सेट गुमायो । अन्य सबै खेलमा सोझो जित निकालेको थियो ।