Trending :
 

प्रचण्डको प्रतिवेदनमाथि सुझाव राख्न प्रत्येक समूहका नेतालाई १५ मिनेट समय

पौष १३,२०७८

-आस्था न्यूज

पुस १३, २०७८ काठमाडौं ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रतिवेदनमाथि सुझाव दिन १५ मिनेटको समय छुट्याइएको छ । मंगलबार बिहान बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले प्रचण्डको प्रतिवेदनमाथि सुझाव राख्न प्रत्येक समूहका नेतालाई १५ मिनेटको समय छुट्याइएको नेता हरिवोल गजुरेलले जानकारी दिए । उनका अनुसार बुधबार दिउँसो १ बजेदेखि समूह नेताले आफ्नो सुझाव राख्न पाउनेछन् । 
 
त्यस्तै बैठकले नेपालको संविधान र पार्टीको विधानअनुसार पार्टी कमिटीमा समानुपातिक समावेशी संख्या मिलाउन ५ सदस्यीय समिति गठन गरेको छ । देव गुरुङको नेतृत्वमा शक्ति बस्नेत, जनार्दन शर्मा, विष्णुपुकार श्रेष्ठ र गिरिराजमणि पोखरेल रहेको समिति गठन गरेको एक नेताले जानकारी दिए । 
 
आइतबारबाट सुरु भएको नेकपा माओवादीको ८ औं महाधिवेशनमा अध्यक्ष प्रचण्डले सोमबार आफ्नो राजनीतिक प्रतिवेदन पेश गरेका थिए । उक्त प्रतिवेदनमाथि छलफल गर्न माओवादीले विभिन्न प्रदेशगत र क्लस्टर मिलाएर २५ वटा समुह बनाएको थियो ।
 
 ती समूहहरुले मंगलबार दिनभर छलफल गर्न समय निर्धारण गरिएको थियो । समुह नेताले सुझाव दिएपछि अध्यक्ष प्रचण्डले जवाफ दिएर प्रस्ताव पारित गर्ने माओवादीको योजना छ । त्यसपछि केन्द्रीय कमिटीका लागि नाम प्रस्ताव गर्ने र ती नामहरुबाट पदाधिकारी चयन गर्ने माओवादीले जनाएको छ ।