नेपाली श्रमिकहरुका लागि नयाँ श्रम बजार खोज्न जरुरी रहेको श्रम विज्ञ गुरुङको भनाई

पौष १४,२०७८

-आस्था न्यूज

पुस १४, २०७८ काठमाडौं ।
श्रम विज्ञ गणेश गुरुङले नेपाली श्रमिकहरू कम तलब भएका भारत, मलेसिया लगायत मुलुकमा काम गरिरहेकाले नयाँ श्रम बजार खोज्न जरुरी रहेको बताएका छन्  । ‘कान्तिपुर आईएमई  माइग्रेसन एण्ड समिट २०२१’ का मुख्य वक्ताको रुपमा रहेका गुरुङले श्रम बजारको नयाँ गन्तव्य खोजेर ब्राण्डिङ गर्नुपर्ने बताए ।
 
‘हाम्रो ब्राण्ड छ, तर प्रयोग गर्न सकेनौं । अहिले सबैभन्दा कम तलब भएको भारत, मलेसियामा श्रमिक पठाएका छौ,’ उनले भने, ‘श्रमिकको हितका लागि नयाँ श्रम गन्तव्य खोजी गरौं ।’ विश्व परिवेशमा १४ हजार कामदारको देहान्त भइसकेको उनले बताए ।
 
नेपालमा रहेका ५४ लाख घरधुरीमध्ये करिब ६० प्रतिशतको घरमा रेमिट्यान्स भित्रिएको उनले बताए । ‘हरेक दिन १५ सय विदेशिएका छन् । दैनिक २ अर्ब ६३ करोड २९ लाख रुपैयाँ रेमिट्यान्स भित्रिएको छ,’ गुरुङले भने, ‘यसले अर्थतन्त्रमा करिब २८ प्रतिशत योगदान गरेको छ । तर, सरकारको लगानी शून्य छ ।’