तमु ल्होसारका अवसरमा राष्ट्रपति र प्रधानमन्त्रीबाट शुभकामना व्यक्त, राष्ट्रिय एकतालाई सुदृढ गर्न मद्दत पुग्ने विश्वास
-आस्था न्यूज
पुस १५, २०७८ काठमाडौं ।
राष्ट्रपति विद्यादेवी भण्डारीले तमु ल्होसार जस्ता पर्वबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुनाका साथै बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने बताएकी छिन् ।
उनले आज तमु ल्होसार पर्वका अवसरमा शुभकामना सन्देश दिँदै यस पर्वले सम्पूर्ण नेपालीमा नयाँ उत्साह तथा उमङ्ग छर्दै सभ्य, सुसंस्कृत र प्रगतिशील समाज निर्माणमा अग्रसर हुन प्रेरणा प्रदान गरोस् भन्ने कामना गरिन् ।
“मुलुकको मौलिक सांस्कृतिक सम्पदाको संरक्षण तथा संवद्र्धन गर्दै पर्यटन प्रवद्र्धनमार्फत आर्थिक र सामाजिकरूपमा समृद्ध मुलुक निर्माण गर्नसमेत गुरुङ समुदायले निर्वाह गर्दै आएको भूमिका प्रशंसनीय छ”, सन्देशमा भनिएको छ ।
राष्ट्रपतिले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, सुस्वास्थ्य र दीर्घायुको शुभकामना पनि व्यक्त गरिन् ।
यसैगरी, प्रधानमन्त्री शेरबहादुर देउवाले तमु ल्होसार पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति तथा सुस्वास्थ्यको शुभकामना व्यक्त गरेका छन् ।
“नेपाली संस्कार र संस्कृतिमा आआफ्नै विशिष्ट पहिचान र विशेषता रहेको छ, विविधता भित्रको एकता र समाजिक सद्भाव हाम्रा सांस्कृतिक अभ्यासका उदाहरण पनि हुन्”, सन्देशमा भनिएको छ, “यही सद्भाव र एकतालाई प्रवद्र्धन गर्ने उदाहरणीय पर्वमध्येको एक ल्होसार पनि हो ।”
प्रधानमन्त्री देउवाले सन्देशमा कोभिड–१९ सङ्क्रमण नियन्त्रणका लागि अवलम्बन गरिएका नीति प्रभावकारी देखिए पनि जोखिम कायमै रहेकाले जनस्वास्थ्यका मापदण्डको पालना गर्दै पर्व हर्षोल्लाहपूर्वक मनाउन आग्रह गरे ।
उनले यस पर्वले पारस्परिक सद्भाव र सहिष्णुताको भावना अझ प्रगाढ र सुदृढ बनाउने प्रेरणा प्रदान गरोस् भनी कामना पनि गरे ।
गुरुङ समुदायले आज पुरानो वर्षलाई बिदाइ र नयाँ वर्षलाई स्वागत गर्दै यस पर्व मनाउने गर्छन् । सो समुदायको बाहुल्य रहेका लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, कास्की, पर्वतलगायत जिल्लामा यो पर्व मनाउने गरिन्छ ।