सहिद स्मारक ए डिभिजन लिग फुटबल: सातौँ चरणका खेल शुक्रबारबाट सुरु हुने

पौष १५,२०७८

-आस्था न्यूज

पुस १५, २०७८ काठमाडौं ।
सहिद स्मारक ए डिभिजन लिग फुटबलको सातौँ चरणका खेल भोलिबाट सुरू हुँदैछन् । अखिल नेपाल फुटबल संघ ९एन्फा० को आयोजनामा जारी लिगको सातौँ चरणका खेलहरू शुक्रबार सुरू भई सोमबार समाप्त हुनेछन् ।  यो चरणमा दुई स्थानमा खेलहरू हुनेछन् ।
 
६ खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा र  एक खेल पोखरा रंगशालामा हुने आयोजकको भनाइ छ । शुक्रबार काठमाडौंमा दुई खेल हुनेछन् । मध्यान्ह १ बजे हुने पहिलो खेलमा विभागीय टोलीहरू एपीएफ फुटबल क्लब र त्रिभुवन आर्मी फुटबल क्लब भिड्दैछन् । पौने ५ बजेको खेलमा भने फ्रेन्ड्स र न्युरोड टिम एनआरटी आमनेसामने हुनेछन् । 
 
यस्तै, शनिबार तीन खेल हुनेछ । १ बजे र पौने ५ बजे काठमाडौंमा दुई खेल हुँदा दिउँसो २ बजे पोखरामा घरेलु टोली मनाङ मर्स्याङ्दी क्लबले ब्रिगेड ब्वाइज क्लब ९बीबीसी० को चुनौती लिनेछ । काठमाडौंमा थ्री स्टार र जावलाखेल युथ भिड्दा दोस्रो खेलमा संकटा क्लब र च्यासल युथ क्लब आपसमा भिड्नेछन् । 
 
तेस्रो दिन एकमात्रै खेल हुनेछ । पौने ५ बजे सुरू हुने खेलमा नेपाल पुलिस क्लबले मछिन्द्र फुटबल क्लबलाई रोक्ने प्रयास गर्नेछ । सातौँ चरणको अन्तिम दिन दिउँसो १ बजे सातदोबाटो युथ क्लब र हिमालयन शेर्पा क्लब प्रतिस्पर्धा गर्नेछन् । 
 
जारी लिगको छैटौं चरणको खेल समाप्त हुँदा १४ अंकसहित मछिन्द्र शीर्ष स्थानमा छ । १३ अंक बनाएको मनाङ दोस्रो स्थानमा रहँदा १२ अंकको संकटा तेस्रो स्थानमा छ भने १० अंकको आर्मी तेस्रो स्थानमा छ । समान ८ अंक बनाएको सातदोबाटो र हिमालयन शेर्पा क्रमशः पाँचौ र छैटौँ स्थानमा रहँदा समान सात अंकका थ्रीस्टार, एनआरटी र जावलाखेल क्रमशः सातौबाट नवौँ सम्ममा छन् ।
 
यता, ६ अंकको पुलिस दशौँ स्थानमा रहँदा समान ५ अंकका एपीएफ र बीबीसी क्रमशः ११ औँ र १२ औँ स्थानमा छन् । चार अंकको च्यासल र तीन अंकको फ्रेन्ड्स रेलिगेसन जोनमा छन् ।  सातौँ चरणमा शीर्षस्थानमा रहने टोली एएफसी कप २०२२ को छनोटको लागि स्थान बनाउनेछ ।