बंगलादेशमा एसियन सेन्ट्रल जोन भलिबलमा उपाधि विजेता नेपाली टिम स्वदेश फिर्ता

पौष १५,२०७८

-आस्था न्यूज

पुस १५, २०७८ काठमाडौं ।
बंगलादेशमा एसियन सेन्ट्रल जोन सिनियर वुमेन्स भलिबल च्यालेन्ज कपको उपाधि चुमेको नेपाली टिम बिहीबार स्वदेश फर्किएको छ । उनीहरुलाई युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज, समर्थक र परिवारजनले त्रिभुवन विमानस्थलमा स्वागत गरेका छन् । 
 
अरुणा शाहीको कप्तानीमा रहेको नेपाली टिमले बंगलादेशको मीरपुरमा साहिद सुरवार्दी नेसनल इन्डोर स्टेडियममा मंगलबार सम्पन्न फाइनलमा उज्वेकिस्तानको कठिन चुनौती ३–२ ले पन्छाउँदै उपाधि रक्षा गरेको थियो ।
 
मन्त्रिपरिषद्को बुधबार भएको बैठकले एसियन सेन्ट्रल जोन सिनियर वुमेन्स भलिबल च्यालेन्ज कप विजेता नेपाली टिमका खेलाडीहरूलाई जनही ५ लाख रुपैयाँ पुरस्कार दिने निर्णय गरेको छ। बैठकले १२ खेलाडीलाई ५-५ लाखसँगै दुई जना प्रशिक्षकलाई जनही ३ लाख र एक जना अफिसियललाई २ लाख दिने निर्णय गरेको जनाइएको छ ।