दक्षिण अफ्रिकाले हटायो रात्रिकालीन कर्फ्यु

पौष १६,२०७८

-आस्था न्यूज

पुस १६, १०७८ काठमाडौं ।
कोरोना महामारीको जोखिमका बीच दक्षिण अफ्रिकाले रात्रिकालीन कर्फ्यु हटाएको छ ।  
 
देशमा कोरोना महामारीको चौथो लहरको उच्चतम अवस्था सम्भवत अब टरेको विश्लेषण गर्दै रात्रिकालीन कर्फ्यू हटाइएको बीबीसीले जनाएको छ ।
 
दक्षिण अफ्रिकी सरकारका अनुसार कोरोनाको ओमिक्रोन भेरियन्ट बढी संक्रामक हुँदाहुँदै पनि बिरामीहरु अस्पतालमा भर्ना हुने दर कम छ । साथै मृत्युका घटना पनि नगण्य छन् ।
 
कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट सबैभन्दा पहिले दक्षिण अफ्रिकामा भेटिएको पुष्टि भएको थियो । यो भेरियन्ट अरुभन्दा बढी संक्रामक रहेको भनिएको थियो ।
 
त्यसैले ओमिक्रोन भेरियन्ट पुष्टि भएका अन्य देशहरुले पनि स्वास्थ्य सुरक्षासम्बन्धी नियमहरु कडाइका साथ पालना गर्न सुरु गरेका थिए । विश्व स्वास्थ्य संगठनले त अझै पनि ओमिक्रोन ‘भेरियन्ट’को संक्रमणको सुनामी आउनसक्ने चेतावनी नै जारी गरेको छ ।
 
तर दक्षिण अफ्रिकाको विशेष मन्त्रिपरिषद बैठकले भने बिहीबार केही नियमहरु खुकुलो बनाउने निर्णय गरेको छ ।
 
दक्षिण अफ्रिकामा २५ डिसेम्बरसम्म कोरोनाका ८९ हजार ७८१ नयाँ संक्रमित फेला परेका छन् । त्यसको एक हप्ता अगाडि यो संख्या १ लाख २७ हजार ७५३ थियो ।