स्थानीय तहको निर्वाचन निर्धारित समयभित्रै हुने गृहमन्त्री खाँणको भनाई

पौष १६,२०७८

-आस्था न्यूज

पुस १६, २०७८ काठमाडौं ।
गृहमन्त्री बालकृष्ण खाँणले स्थानीय तहको निर्वाचन निर्धारित समयभित्रै हुने बताएका छन् । नेपाल पत्रकार महासंघ कास्की शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री खाँणले स्थानीय तहको निर्वाचन निर्वाचन आयोगले तय गरेको समयभित्र नै गरिने बताएका हुन् ।
 
आयोगले बैसाखमा चुनाव गर्ने प्रस्ताव गरिसकेको छ । गृहमन्त्री खाँणले अमेरिकासँगको एमसीसी सम्झौता पनि सबै दलको सहमतिमा नै पारित गरिने बताए । उनले सबै दलको सहमतिमा केही बुँदा संशोधन गरेर पारित गर्नुपर्ने बताए ।
 
उनले ट्राफिक व्यवस्थापन देशभर नै समस्या भन्दा पनि चुनौतिको रुपमा रहेको उनले बताए । ‘हामीले सवारी साधनको संख्या घटाउन सक्दैनौं’ उनले भने, ‘यसको विकल्प सडक व्यवस्थापन हो ।
 
वैकल्पिक सडकबारे सोच्न जरुरी छ । उनले पोखरा र पोखरा आसपासका जिल्लामा शान्ति सुरक्षाको पनि व्यवस्थापनबारे छलफल भइरहेको बताएका थिए ।
 
पर्यटकीय नगर पोखरामा २४ घण्टा होटल तथा रेष्टुरेन्ट खुला राख्नुपर्ने धारण राख्दै उनले यसको लागि सबैलाई सहयोग गर्न आग्रह गरे । प्रहरीको दरबन्दी थप लगायत प्रहरी चौकी विस्तारमा पनि सरकार सचेत रहेको उनको धारणा थियो । यस्तै, उनले पत्रकार र लोकतन्त्र एउटै सिक्कामा पाटा रहेको पनि बताए । 
 
उनले पत्रकारिता सम्बन्धित केही विधेयक विवादित रहेकाले छलफल गरेर मात्र पारित गर्ने बताए । ‘सबै प्रदेशका विधेयकमाथि विवाद उठेको छ’ उनले भने, ‘नयाँ विधेयक र भइरहेका ऐन, कानुन संशोधन गरेर पत्रकारमैत्री बनाइने छ ।’