Trending :
 

आयोगलाई ९ वटा निर्वाचन कानुनलाई घटाएर ३ मा झार्न स्वीकृति

पौष १७,२०७८

-आस्था न्यूज

पुस १७, २०७८ काठमाडौं ।
सरकारले विद्यमान ९ वटा निर्वाचन कानुनलाई घटाएर तीनवटामा झार्न निर्वाचन आयोगलाई स्वीकृति दिएको छ । गत बुधबार बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचन आयोगलाई एकीकृत ऐन निर्माणका लागि सैद्धान्तिक सहमति दिएको हो ।
 
हाल नेपालमा निर्वाचनसम्बन्धी ९ वटा कानुन छन् । यीमध्ये ७ वटा कानुनलाई एकीकृत गरेर एउटै बनाउने निर्वाचन आयोगको तयारी छ । नयाँ एकीकृत कानुन आएपछि राजनीतिक दलसम्बन्धी ऐन, निर्वाचन आयोग ऐन र निर्वाचन सञ्चालन तथा व्यवस्थापन ऐनसमेत गरी तीनवटा मात्रै निर्वाचन कानुनहरू अस्तित्वमा रहनेछन् । बाँकी ७ वटा कानुनहरू खारेज हुनेछन् ।
 
नयाँ संशोधित ऐनमा निर्वाचन आयोगलाई थप स्वायत्त बनाउने आयोगको तयारी छ । निर्वाचन वा उपनिर्वाचनको मिति सरकारले तोक्दै आएकोमा अब सरकारसँग समन्वय गरेर निर्वाचन आयोगले नै मिति तोक्ने गरी कानुन संशोधन गर्न लागिएको स्रोतले बतायो । भारतमा पनि निर्वाचन आयोगले नै निर्वाचनको मिति तोक्ने गरेको आयोगका एक अधिकारीले बताए ।
 
पछिल्लो समय सर्वोच्च अदालतले पनि निर्वाचन कानुन संशोधन गर्नु भन्ने परमादेश दिइसकेको अवस्था छ । अदालतले खासगरी विदेशमा बसोबास गर्ने नेपालीहरूलाई मतदानको अधिकार प्रदान गर्न र ‘नो भोट’को समेत व्यवस्था गर्न भनेको छ । नयाँ आउने एकीकृत कानुनमा यसलाई पनि समेट्ने आयोगको तयारी छ ।