Trending :
 

माओवादी केन्द्रीय सदस्यमा ३५ प्रतिशत महिला र २० प्रतिशत युवा अनिवार्य

पौष १७,२०७८

-आस्था न्यूज

पुस १७, २०७८ काठमाडौं ।
माओवादी केन्द्रको जारी आठौं राष्ट्रिय महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि क्लस्टर विभाजन गरिएको छ । २९९ केन्द्रीय सदस्यका लागि १४५ जना खुलाबाट र बाँकी समानुपातिक, समावेशी तथा मनोनयनबाट ल्याउने गरी निर्वाचन समितिले क्लस्टर विभाजन गरेको छ ।
 
जसका लागि केन्द्रीय सदस्यमा कुल संख्याको ३५ प्रतिशत महिला र २० प्रतिशत युवा अनिवार्य गरिएको छ । युवाको रुपमा भने ४० वर्षमुनिको उमेर समूहका लागि भनी व्याख्या गरिएको छ ।
 
निर्वाचन समितिले शनिबार विभिन्न ९ समूहको क्लस्टर बनाएर उम्मेदवारहरूको सूची सार्वजनिक गरेको हो । जसअन्तर्गत खुलातर्फ १४५ जना, खसआर्यतर्फ ४५ जना, दलितबाट २२ जना, मुस्लिमबाट ७ जना, मधेसीतर्फ २३ जना, आदिवासी जनजातिबाट ४३ जना, थारुतर्फ १०, अपांगतर्फ २ जना र पिछडिएको वर्गबाट २ जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन् ।
 
माओवादीको विधान अनुसार महाधिवेशन प्रतिनिधिहरुले २९९ सदस्यीय केन्द्रीय कमिटी र १५ सदस्यीय पदाधिकारी निर्वाचित गर्नेछन् । त्यसमध्ये ३५ प्रतिशत महिला र २० प्रतिशत युवा अनिवार्य गरिएको यो पहिलोपटक हो ।
 
शनिबारको बन्दसत्रबाट विधान मस्यौदा पारित भएसँगै माओवादी केन्द्रको निर्वाचन प्रक्रिया सुरु भएको हो । निर्वाचन समितिले महाधिवेशनस्थल प्रज्ञा भवनमा १ हजार ७४२ जनाको नामावली यसअघि नै सार्वजनिक गरेको छ ।