क्रिकेट खेलाडीमाथिको कारबाही फिर्ता

पौष १८,२०७८

-आस्था न्यूज

पुस १८, २०७८ काठमाडौं ।
नेपाल क्रिकेट सङ्घ (क्यान) र असन्तुष्ट खेलाडीबीच सहमति भएको छ । आज आइतवार भएको सहमतिअनुसार क्यानले ज्ञानेन्द्र मल्ल, उपकप्तान दिपेन्द्रसिंह ऐरी, कमलसिंह ऐरी र सोमपाल कामीमाथि गरिएको कारबाही पनि फिर्ता हुने भएको छ । यो निर्णय क्यानको बोर्ड बैठकले पारित गर्नेछ ।
 
आज सहमतिका लागि भएको बैठकमा कप्तानको जिम्मेवारी ज्ञानेन्द्र मल्ललाई नै दिने विषयमा छलफल भए पनि यो विषयमा थप छलफल गर्नुपर्ने क्यानका पदाधिकारीले बताएका थिए ।
 
क्यानको खेलाडी वर्गीकरणमा असन्तुष्टि जनाएको भन्दै क्यानले गएको मङ्सिर २९ मा कप्तान ज्ञानेन्द्र मल्ललाई हटाएर सन्दीप लामिछानेलाई जिम्मेवारी दिएको थियो । यस्तै चार जनालाई ६ महिना ग्रेडविहीन अवस्थामा राख्ने निर्णय भएको थियो । 
 
कप्तान परिवर्तन र खेलाडी कारबाहीको विषयलाई लिएर मल्लसहित कारबाहीमा परेका चार जना र अरू १४ जना खेलाडी आजदेखि सुरु भएको बन्द प्रशिक्षणमा गएका थिएनन् ।
 
विवादका कारण अन्तर्राष्ट्रिय प्रतियोगिता नै प्रभावित हुने भएपछि क्यानले कप्तान परिवर्तन र कारबाही फिर्ता गर्ने निर्णय गरेको हो । आजको सहमतिपछि भोलि सोमवारदेखि बन्द प्रशिक्षण सुरु हुने भएको छ ।