ओमिक्रोनले फोक्सोमा नभई घाँटीमा धेरै असर गर्ने अध्ययन सार्वजनिक

पौष १९,२०७८

-आस्था न्यूज

पुस १९, २०७८ काठमाडौं ।
 
कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनका कारण विश्वमा त्रास फैलिरहेका बेला यसले फोक्सोमा धेरै हानी नगर्ने अध्ययन सार्वजनिक भएको छ ।
 
बेलायतमा ६ वटा अनुसन्धान समूहले गरेको अध्ययनले ओमिक्रोन भेरियन्टले फोक्सोमा कम असर गर्ने देखिएको हो । तर, घाँटीमा भने बढी असर देखिने गरेको युनिभर्सिटी अफ लिभरपुल मोलकुलर भाइरोलोजी रिसर्ज ग्रुपले प्रकाशित गरेको अध्ययनले देखाएको बेलायती अखबार द गार्जियनले जनाएको छ ।
 
युनिभर्सिटी कलेज लण्डनका भाइरोलोजी  प्राध्यापक दीनन पिल्लेले अध्ययनमा ओमिक्रोन सङ्क्रमित बिरामीको फोक्सोमा कम हानी भएको पाइएको बताउनु भएको छ । मुसामा गरिएको अध्ययनले अन्य भेरियन्टले भन्दा ओमिक्रोनले फोक्सोलाई १० प्रतिशत कम हानी गरेको पाइएको हो ।
 
ओमिक्रोन सङ्क्रमित मुसाको तौल खासै नघटेको तथा निमोनिया भए पनि सामान्य मात्र असर देखिएको खबरमा उल्लेख छ । यो भेरियन्ट नाक तथा घाँटीमा रहरिहने भएकाले खोक्दा, हाँछ्यु गर्दा छिटोछिटो अरु व्यक्तिमा सर्ने गरेको अनुसन्धानकर्ताले बताएका छन् ।  
 
यस्तै, दक्षिण अफ्रिकाको तथ्याङ्कलाई आधार मान्ने हो भने पनि त्यहाँ डेल्टा भेरियन्टको तुलनामा ओमिक्रोनबाट सङ्क्रमित बिरामीको ज्यान जाने जोखिम ८०  प्रतिशतले कम छ । यसअघि बेलायतको स्वास्थ्य सुरक्षा निकायले आफ्नो प्रारम्भिक अध्ययनमा पनि अन्य भेरियन्टले भन्दा ओमिक्रोन कम घातक भएको जनाएको थियो ।
 
अध्ययनले ओमिक्रोन भएका झण्डै ७० प्रतिशत बिरामी अस्पताल भर्ना हुनु नपर्ने देखाएको थियो ।   विश्व स्वास्थ्य सङ्गठन ९डब्ल्यूएचओ०ले भने केही दिन अघि ओमिक्रोन अन्य भेरियन्ट भन्दा तीव्र गतिमा फैलिने भएकाले कोरोना सङ्क्रमणको सुनामी नै आउन सक्ने चेतावनी दिएको छ ।