Trending :
 

तोकिएकै समयमा काम सम्पन्न गर्न राष्ट्रिय भूमि आयोगलाई निर्देशन

पौष १९,२०७८

-आस्था न्यूज

पुस १९, २०७८ काठमाडौं ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले तोकिएको कार्य तोकिएकै समयमा उत्कृष्ट रुपले सम्पन्न गर्न राष्ट्रिय भूमि आयोगलाई निर्देशन दिएकी छन् । 
 
मन्त्रालयमा सोमबार राष्ट्रिय भूमि आयोगका पदाधिकारी र कर्मचारीहरुसँगको छलफलमा मन्त्री श्रेष्ठले काम गर्दा केही नीतिगत र कानुनी रुपमा समस्या छन् भने त्यसको समाधानका लागि समयमा नै मन्त्रालयमा जानकारी गराउन निर्देशन दिँदै त्यसलाई तत्काल सम्बोधन गर्न मन्त्रालय तयार रहेको बताएकी हुन् । 
 
मन्त्री श्रेष्ठले यो वा त्यो वहाना देखाएर काम पन्छाउने वा भाग्न नपाइने भन्दै भूमि सम्बन्धी समस्या समाधान गर्न बनाइएको कार्ययोजना अनुसार जति सक्दो छिटो र परिणाम निस्कने गरी काम गर्न समेत निर्देशन दिइन् । 
 
बैठकमा राष्ट्रिय भूमि आयोगको हालसम्मको प्रगति समिक्षा र आगामी कार्ययोजनाका विषयमा छलफल भएको थियो । 
 
छलफलमा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव गणेशप्रसाद पाण्डेयले कार्य सम्पादनमा प्रभावकारीताका लागि मन्त्रालय सबै किसिमले सहयोग गर्न तयार रहेको बताए । 
 
राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौलाले आयोगले पूर्णता पाएको दिन देखिनै प्रभावकारी रुपमा काम गर्दै आएको  र सरकारले जुन उद्देश्य लक्ष्य र प्राथमिकताका साथ जिम्मेवारी दिएको छ त्यो पुरा गर्न आफुहरु तत्पर रहेको बताए । 
 
राष्ट्रिय भूमि आयोगका उपाध्यक्ष नहेन्द्र खड्काले अघिल्लो आयोगले गरेको कामको स्वामित्व ग्रहण गर्दै परिवर्तित सन्दर्भ अनुसार छिटो र प्रभावकारी रुपमा काम सम्पन्न गर्न प्रतिबद्ध रहेको बताए ।