ओमिक्रोनका कारण बेलायतको स्वास्थ्य क्षेत्र निकै प्रभावित

पौष २०,२०७८

-आस्था न्यूज

पुस २०, २०७८ काठमाडौं ।
बेलायतमा ओमिक्रोन भाइरसका बढ्दै गएपछि विशेषगरि स्वास्थ्य क्षेत्र निकै प्रभावित बन्दै गएको छ । पछिल्लो समय बेलायतमा दैनिक सङ्क्रमितको सङ्ख्या झन्डै दुई लाखको हाराहारीमा पुगेको छ । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले दिएको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा एक लाख ५७ हजार भन्दा बढी सङ्क्रमित थपिएका छन् । 
 
अघिल्लो हप्ताको तुलनामा दैनिक सङ्क्रमित सङ्ख्या ४५ प्रतिशतले बढेको हो । बेलायतमा हाल सङ्क्रमित सङ्ख्या महामारीयताकै उच्च हो । अघिल्लो पटक सङ्क्रमण दर उच्च हुँदा दैनिक ६८ हजारको हाराहारीमा रहेको थियो भने योपटक करिब तीन गुणा बढी छ ।
 
नयाँ भाइरस पहिलाको डेल्टा भाइरस जस्तो घातक नभएपनि तीव्र रूपमा फैलिने भएकाले बेलायतका अस्पतालहरूमा दिनहुँ बिरामीको चाप बढ्न थालेको छ । उता स्वास्थ्य  क्षेत्रमा कार्यरत कर्मचारीहरू नै सङ्क्रमित हुन थालेपछि अस्पतालमा स्वास्थ्यकर्मीको अभाव हुन थालेको छ । 
 
बेलायतको नेशनल हेल्थ सर्भिस (एनएचएस) मा काम गर्ने कर्मचारीहरूमध्ये अहिले १० जनामा एकजना कर्मचारी सङ्क्रमित भएर अनुपस्थित भएको बताइएको छ । लिंकनसायर हस्पिटल ट्रष्टले अस्पतालमा कोभिड सङ्क्रमणका कारण कर्मचारी अभाव भएको भन्दै ‘सङ्कटपूर्ण अवस्था’ आएको बताएको छ । लन्डन, योर्कसायर र इसेक्सका दर्जन बढी अस्पतालले कोभिड बिरामी बढेपछि भेटघाटका लागि भिजिटर आउन प्रतिबन्ध लगाएका छन् ।
 
बेलायती शिक्षामन्त्री नधिम जहावीले ५० वर्ष उमेर भन्दा माथिको समूहमा ओक्रिमन भेरियन्ट फैलिइरहेको जनाएका छन् । तर उनले ९० प्रतिशत बढी वृद्धवृद्धाले बुस्टर खोप लगाइसकेकाले अहिले इंग्ल्याण्डमा तत्काल थप प्रतिबन्ध आवश्यक पर्ने तथ्याङ्कले नदेखाएको पनि बताए ।
 
प्रधानमन्त्री बोरिस जोन्सनले कोभिड महामारी अन्त्य भएको ठानिनु मूर्खता हुने बताएका छन् । अहिले अस्पतालको आइसीयूमा रहेका बिरामी खोप वा बुस्टर डोज नलगाएका बढी पाइएकाले सबैलाई अनिवार्य रूपमा खोप लगाउन आग्रह गरिएको छ । 
 
खोपको प्रभावकारीताका कारण यसपटक मुलुकको अवस्था निकै राम्रो रहेको प्रधानमन्त्रीले बताएका छन् । हाल जारी प्लान ‘बी’ नै तत्काल लागि पर्याप्त हुने भन्दै सबैलाई नियम पालना गर्न आग्रह गरेका छन् ।
 
बेलायतमा हालसम्म ९०।१ प्रतिशतले कोरोनाविरुद्धको खोपको पहिलो मात्रा लिएका छन् । यसैगरी दोस्रो मात्र लगाउने पनि ८२.५ प्रतिशत रहेको तथ्यांकले देखाएको छ । तीन करोड ४२ लाख पाँच हजार ४७२ अर्थात ५९.५ प्रतिशतले बुस्टर डोज लगाइसकेका छन् ।
 
संक्रमणदर बढेसँगै अस्पताल भर्ना हुनेको सङ्ख्यामा पनि वृद्धि हुँदै गएको छ । पछिल्लो २४ घण्टामा एक हजार ९१५ जना अस्पताल भर्ना भएका छन्  । हाल बेलायतका अस्पतालमा एघार  हजार ९१८ जनाको उपचार भइरहेको छ भने ८६८ जनाको भेन्टिलेटर बेडमा उपचार भइरहेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।