देउवाले एकलौटी केन्द्रीय सदस्य मनोनीत गरेको भन्दै कोइराला पक्ष असन्तुष्ट
-आस्था न्यूज
पुस २१, २०७८ काठमाडौं ।
कांग्रेस सभापति शेरबहादुर देउवाले एकलौटी ढंगले केन्द्रीय सदस्यहरु मनोनीत गरेपछि शेखर कोइराला पक्षले असन्तुष्टि व्यक्त गरेको छ । आफू निकटका नेताहरुको भेलामा नेता कोइरालाले सभापति देउवाले कुन मापदण्ड अपनाएर सदस्यहरू नियुक्त गरेको भन्दै प्रश्न गरेका छन् । उनले पार्टीमा न्यायोचित अवसरको वितरण र व्यवस्थापन हुन जरुरी रहेको बताए ।
नेता कोइरालाले सभापतिको लाइक र डिस्लाइकबाट व्यक्तिको छनोट भए पार्टीमा दुर्घटना हुन सक्ने बताउँदै सेचत हुन आग्रह गरे । भेलामा नेता कोइरालाले विधि र विधान बाहिर गएर गरिने सबै कामहरु बन्द गर्न सबै एकढिक्का भएर प्रयत्न गर्नुपर्नेमा जोड दिए ।
नेपाली कांग्रेसको १४औं महाधिवेशन पदाधिकारीमा पराजितहरुलाई सभापति देउवाले केन्द्रीय सदस्यमा मनोनीत गरेपछि कोइरालाले असहमति जनाएका हुन् । देउवाले आफू निकटका पराजित उम्मेदवारहरुलाई केन्द्रीय समितिमा ल्याएको भन्दै कोइराला पक्षले असन्तुष्टि जनाएको हो ।
भेलामा उपसभापति धनराज गुरुङ्, महामन्त्री गगन थापा,सहमहमान्त्रद्वय बद्री पाण्डे र जीवन परियारलगायतका नेताहरु उपस्थित छन् ।