रामेछापमा प्रसूति गराउने स्वास्थ्य केन्द्र बन्द हुँदा गर्भवती र सुत्केरी समस्यामा

पौष २४,२०७८

-आस्था न्यूज

पुस २४, २०७८ काठमाडौं।
रामेछापको एक मात्रै जटिलतायुक्त प्रसूति शल्यक्रिया तथा नवशिशु स्याहार केन्द्र सेवा १७ महिनादेखि बन्द रहेको छ । सेवा बन्द भएसँगै जिल्लामा जटिल प्रसूति गराउने स्वास्थ्य केन्द्र नहुँदा गर्भवती र सुत्केरी समस्यामा परेका छन् ।
 
२०७३ वैशाख महिनाबाट रामेछाप जिल्लामै पहिलो पटक प्राथमिक सेवा केन्द्र मन्थलीमा यो सेवा सञ्चालन आएको थियो । त्यसपछि पटक–पटक बन्द हुँदै फेरि सञ्चालन हुँदै आएको जटिलतायुक्त प्रसूति शल्यक्रिया तथा नवशिशु स्याहार केन्द्र गत वर्ष साउन महिनाबाट बन्द छ । 
 
सेवा सञ्चालन हुँदा रामेछाप, दोलखा, सिन्धुली, ओखलढुङ्गालगायतका जिल्लाका गर्भवतीले जटिल अवस्थामा पनि शल्यक्रियासहितको सुत्केरी सेवा पाएका थिए ।
 
प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीमा शल्यक्रियाका लागि आवश्यक भौतिक सुविधा उपलब्ध भए पनि नियमित शल्यक्रियाका लागि विशेषज्ञ डाक्टरको व्यवस्था नहुँदा विगत १७ महिनादेखि सेवा बन्द भएको हो ।
 
विशेषज्ञ डाक्टर अभावकै कारण सेवा सञ्चालन हुन नसकेको मन्थली नगरपालिका स्वास्थ्य शाखा प्रमुख केशवराज फुयालले बताउनुभयो । डाक्टर तुरुन्तै भर्ना गरी सेवा सुरु गर्ने तयारीस्वरूप मन्थली नगरपालिकाले अबको एक हप्तामा विशेषज्ञ डाक्टर आवश्यकताको सूचना प्रकाशन गर्ने उहाँको भनाइ छ ।
 
शल्यक्रियासहितको प्रसूति सेवाका लागि विशेषज्ञता हासिल गरेका डाक्टरलाई सेवा सुविधा दिन नसक्नु तथा जनशक्ति कम हुनुले पनि नियमित डाक्टर राख्न सकिएको छैन, उहाँले भन्नुभयो । सेवा सञ्चालन हुँदा प्रसूतिका लागि काठमाडौँलगायत अन्य जिल्लाका अस्पतालमा जाने महिलाको सङ्ख्यामा समेत कमी आएको थियो ।
 
२४ घण्टे जटिलतायुक्त प्रसूति शल्यक्रिया तथा नवशिशु स्याहार केन्द्रबाट १५ महिनाको अवधिमा मात्रै १२६ जनालाई शल्यक्रियामार्फत सुत्केरी गराइएको प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीले जनाएको छ ।