सहिद स्मारक ए डिभिजन लिगः च्यासलमाथि मनाङ मर्स्याङ्दीको ५-० को फराकिलो जित

पौष २४,२०७८

-आस्था न्यूज

पुस २४, २०७८ काठमाडौं ।
घरेलु मैदानमा मनाङ मर्स्याङ्दी क्लबले ‘कतार एअरवेज’ सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज च्यासल युथ क्लबमाथि ५–० को फराकिलो अन्तरको जित हासिल गरेको छ । 
 
पोखरा रङ्गशालास्थित फुटबल मैदानमा सम्पन्न खेलमा मनाङले ओलावाले ओलाडिपे अफिजको ह्याट्रिक मद्दतमा लिगमा ‘रेलिगेसन जोन’मा रहेको च्यासलमाथि प्रभावशाली जित दर्ता गरेको हो । 
 
मनाङले पहिलो हाफमा दुई गोल गरेकामा दोस्रो हाफमा तीन गोल गर्न सफल भयो । दोस्रो हाफको इन्जुरी समयमा मात्रै मनाङले दुई गोल गरेको थियो ।
 
खेलको तेस्रो मिनेटमा नै मनाङका विदेशी खेलाडी सोमिडेले गोल गर्दै टोलीलाई अग्रता बनाएकामा ओलावालेले ४३ औँ मिनेटमा अग्रता दोब्बर बनाए । मनाङका डिफेण्डर दिनेश राजवंशीले खेलको ८६औँ मिनेटमा गोल गर्दै अन्तर फराकिलो बनाए । ओलावालेले छ मिनेटको इन्जुरी समयको तेस्रो र चौथो मिनेटमा लगातार गोल गर्दै ह्याट्रिक पूरा गरे ।
 
खेलमा च्यासलले पनि गोल गर्ने केही मौका सिर्जना गरे पनि सदुपयोग गर्न सकेन । पहिलो हाफको तुलनामा दोस्रो हाफमा बलमा पकड बनाउँदै च्यासलले मनाङमाथि दबाब बढाए पनि गोल गर्न भने असफल रह्यो । खेलको ६५औँ मिनेटमा च्यासलका प्रशिक्षक बालगोपाल साहुखल रातो कार्ड खाँदै टचलाइनबाट बाहिरिए । रेफ्रीको निर्णयमा असहमति जनाएपछि पहिलोपटक पहेँलो कार्ड बेर्होरेका प्रशिक्षक साहुखलले दोस्रोपटक रातो कार्ड बेर्होरे ।
 
च्यासलसँगको खेलमा जित हासिल गरेसँगै मनाङले घरेलु मैदानमा खेलेका तीनै खलमा शतप्रतिशत नतिजा निकालेको छ । गत पुस ३ गते नेपाल पुलिस क्लबमाथि ३–१ को जित दर्ता गरेको मनाङले पुस १७ गते ब्रिगेड ब्वाइज क्लबमाथि १–० अन्तरको जित हासिल गरेको थियो । मनाङले पोखरा रङ्गशालालाई घरेलु मैदान बनाएपछि पहिलोपटक सहिद स्मारक ए डिभिजन लिगका तीन खेल पोखरामा खेलाइएको हो ।
 
खेलपछिको पत्रकार सम्मेलनमा मनाङ मस्र्याङदीका विदेशी प्रशिक्षक फुजा टोपेले राम्रो खेलेर जित हासिल गरेको बताउँदै लिगको उपाधिको दावेदारी थप बलियो भएको बताए । आगामी दिनको खेलमा अङ्क नगुमाउने र उपाधि जित्ने योजना उनले सुनाए । 
 
च्यासलका सहायक प्रशिक्षक थमन भुसालले आफ्नो टोलीको खेल राम्रो भए पनि रेफ्रीको कमजोर निर्णयका कारणले फराकिलो अन्तरको हार बेर्होनुपरेको आरोप लगाए ।