ललिता निवासको अनुसन्धान प्रतिवेदन सीआईबीमै फिर्ता !

पौष २६,२०७८

-आस्था न्यूज

पुस २६, २०७८ काठमाडौं ।
सरकारी वकिलको कार्यालय काठमाडौंले बालुवाटारस्थित ललिता निवासको जग्गा हिनामिनासम्बन्धी अनुसन्धान प्रतिवेदन प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मै फर्काएको छ । भूमाफिया, व्यापारीदेखि उच्च पदस्थ सरकारी कर्मचारीसमेत जोडिएको हिनामिनामा सरकारी वकिलको कार्यालयले थप अनुसन्धान गर्नुपर्ने कारण देखाएर प्रतिवेदन सीआईबीमै फर्काएको हो ।
 
सीआईबीले मुलुकी अपराध संहिता २०७४ को दफा २ सय ७६ मा उल्लेखित सरकारी लिखतसम्बन्धी कसुरमा साढे ३ सय बढीलाई बिगोरकैद र जरिवाना मागदाबीसहित प्रतिवेदन केही दिनअघि सरकारी वकिलको कार्यालयमा पेश गरेका थिए । त्यसपछि सरकारी वकिलको कार्यालयले प्रतिवेदनबारे महान्यायाधिवक्ता कार्यालयसँग परामर्श गरेको थियो ।
 
परामर्शपछि महान्यायाधिवक्ता खम्बबहादुर खातीको निर्देशनमा काठमाडौं सरकारी वकिलको कार्यालयले थप अनुसन्धान गरी प्रतिवेदन पेश गर्न भन्दै २० बुँदे निर्देशनसहित सीआईबीमै फर्काएको हो ।
 
सीआईबीको अनुसन्धान प्रतिवेदन थप अनुसन्धान गरी पेश गर्ने गरी उतै फर्काइएको छ, अब यसमा असीमित हदम्यादको व्याख्या गरेर साविक मुलुकी ऐनको किर्तेसम्बन्धी कसुर लगाएर पुनः प्रतिवेदन पेश हुनेछ,’ सरकारी वकिल कार्यालय स्रोतले भन्यो ।
 
मुलुकी अपराध संहिताको लिखतसम्बन्धी कसुरमा २ वर्षको हदम्याद छ । यो हदम्याद मंगलबार सकिँदै छ । हदम्याद सकिनु एक दिनअघि सरकारी वकिलको कार्यालयले मुद्दा सीआईबीमै फर्काउने निर्णय गरेपछि अनुसन्धान अधिकृतहरुले सरकारी वकिलहरुसँग असन्तुष्टि जनाएका थिए ।