जुम्लामा एमविविएस पढाई शुरु भएसँगै चहल पहल बढ्यो

पौष २७,२०७८

-आस्था न्यूज

पुस २७, २०७८ काठमाडौं ।
जुम्लामा एमविविएस शुरु भए सँगै चहल पहल थप बढेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले गत मंशिर २६ गते एमविविएस लगायतका शैक्षिक कार्यक्रमहरु उद्धाटन पछि मेडिकल हवको तयारी गरिएको छ । 
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले जुम्ला सदरमुकामबाट छ किलोमिटर टाढा च्यारे चौरमा एमविविएस अध्ययन र अध्यापनका लागि दुई दर्जन भौतिक संरचना निर्माण गर्ने तयारी गरिएको छ ।
उपकुलपति डा. मंगल रावलका अनुसार प्रतिष्ठानले एमविविएस शुरु गरेपछि मेडिकल हवको रुपमा अगाडि बढाउन २३ वटा भवन निर्माण गर्ने योजना सहित अगाडि बढाइएको जानकारी दिनुभयो । उहाँका अनुसार अव च्यारेचौरलाई प्रतिष्ठानको दीर्घकालिन योजनानुसार मेडिकल हवको रुपमा विस्तार गरिनेछ । 
 
एमविविएस लगायतका कार्यक्रमहरु अध्ययन अध्यापन गराउन चन्दननाथ नगरपालिका ३ का स्थानीयको सहयोगमा प्रदान गरिएको निःशुल्क जग्गाको उक्त स्थान च्यारेचौरमा एक भवन भने शुरुवात भइसकेको छ । रसुवा कम्पनीले शुरुवात गरेको सो भवन स्थानमा २३ वटा भवन बन्नेछन् ।
 
डाँफे लेक नजिक रहेको सो क्षेत्रमा च्यायारे क्षेत्रमा संसारकै अग्लो स्थानमा मेडिकल शिक्षाको अध्ययन हुने भएकोमा जुम्ला र च्यारे संसारकै रोल मोडेल मेडिकल हव हुने उक्तिकै सम्भावना छ । हिमाली क्षेत्र जहाँ हिउँदे सिजनमा हिउँले ढाकिरहने भागमा सेता एप्रोन लगाएका डाक्टर उत्पादन हुने छन् ।
 
रजिष्ट्रार नृपेन्द्र महतका अनुसार च्यारे चौरमा रहेको पाँचसय रोपनी जग्गा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताललाई स्थानीयले दिने सहमति भएको र तीनसय रोपनी दर्ता भइसकेको बताउनुभयो । सोही क्षेत्रमा शैक्षिक भवनहरु ठूलो मात्रामा लगाईने योजना नेपाल सरकारका समक्ष पेश गरिएको छ ।
प्रतिष्ठानको केन्द्रीय कार्यालय जुम्ला सदरमुकाममा रहेको तीनसय शैयाको अस्पताल क्षेत्रमा अहिले एमविविएस लगायतका कक्षाहरु सञ्चालन भईरहेका छन् । वर्षेनी बिरामी संख्या बढ्दै जाने र संरचना साघुँरो हुदै गएकाले एमविविएस सहितका शैक्षिक कार्यक्रमहरु सञ्चालन गर्न च्यारेमा ठूलो मात्रामा भौतिक संरचना निर्माण गर्न थालिएको हो । 
 
प्रतिष्ठानका शिक्षाध्यक्ष डा. निरेश थापाका अनुसार च्यारेमा एउटा भवन निर्माण र जुम्ला बजार अस्पताल क्षेत्र नजिक तीनवटा भवन निर्माण गर्न रसुवा कम्पनीले जिम्मा लिएको छ । उहाँका अनुसार राष्ट्रपति भण्डारीले उद्धाटन गर्नुभएको भवन च्यारेचौरमा नबनेसम्मका लागि त्यही अध्यापन हुने बताउनुभयो ।
 
पछिल्लो समय प्रतिष्ठानमा एमविविएस अध्ययन गर्न २० जना विद्यार्थीहरु भर्ना भइसकेका छन् । जुम्लामा प्रतिष्ठानको स्थापनापछि स्वास्थ्य क्षेत्रमा परिर्वतन हुन थालेको छ । स्वास्थ्य सेवा, स्वास्थ्य शिक्षामा उच्च तहको कक्षाहरु सञ्चालन भइरहेका छन् ।
गोरखापत्रबाट