चीनबाट थप ११ लाख ८४ हजार मात्रा भेरोसेल खोप आइपुग्यो

पौष २७,२०७८

-आस्था न्यूज

पुस २७, २०७८ काठमाडौं ।
 
चीनबाट झन्डै १२ लाख मात्रा कोभिडविरुद्धको भेरोसेल खोप नेपाल आइपुगेको छ ।  
 
एसियाली विकास बैंकको ऋण सहयोगमा आज मङ्गलवार भेरोसेलको ११ लाख ८४ हजार मात्रा खोप नेपाल आइपुगेको स्वास्थ्य सेवा विभागका आपूर्ति व्यवस्थापन शाखाका प्रमुख डाक्टर सुरेन्द्र चौरसियाले जानकारी दिनुभयो । यो खोप नियमित रूपमा १८ वर्षमाथि उमेर समूहकालाई लगाइने उहाँले बताउनुभयो ।
 
योसँगै नेपालले अहिलेसम्म भेरोसेल, कोभिशिल्ड, एस्ट्राजेनेका, फाइजर, मोर्डना, जोनसन एन्ड जोनसन लगायतका चार करोड तीन लाख ८७ हजार नौ सय २७ मात्रा खोप प्राप्त गरेको छ । 
 
पछिल्लो केही दिनदेखि नेपालमा कोरोनाको सङ्क्रमण दर बढ्दो छ । विज्ञहरूले नयाँ सङ्क्रमणबाट जोगिनका लागि समेत खोप लगाउन सुझाव दिइरहेका छन् । सरकारले आउँदो माघ महिनादेखि लक्षित समूह निर्धारण गरी भेरोसेल खोपको अतिरिक्त मात्रासमेत दिने योजना बनाएको छ ।